Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

ओलीको निर्देशन: पार्टीमाथिको आक्रमण डटेर सामना गर्न सांसदलाई आग्रह

ओलीको निर्देशन: पार्टीमाथिको आक्रमण डटेर सामना गर्न सांसदलाई आग्रह

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभामा शपथ ग्रहणलगत्तै नवनिर्वाचित सांसदहरूलाई पार्टीमाथि भइरहेको आक्रमणको डटेर सामना गर्न निर्देशन दिएका छन्।

बिहीबार च्यासलमा आयोजित कार्यक्रममा उनले एमालेले राम्रो काम गरेकै कारण आफूहरूविरुद्ध आक्रमण केन्द्रित भएको दाबी गरे। ती आक्रमणहरू तथ्य र तर्कमा नभई अपशब्द, भ्रम र कुप्रचारमा आधारित रहेको उनको भनाइ थियो।

ओलीले पार्टीले अपनाएको ‘सभ्य शैली’ले यस्ता आक्रमणको प्रभावकारी प्रतिवाद गर्न नसकेको स्वीकार गर्दै अब त्यसमा सुधार आवश्यक रहेको बताए। साथै सामाजिक सञ्जालको प्रभावकारी प्रयोग गर्न नसक्दा सत्य कुरा जनतासम्म पुग्न नसकेको उल्लेख गरे।

उनले सांसदहरूलाई अनावश्यक विषयमा टिप्पणी नगरी आवश्यक मुद्दामा केन्द्रित भएर स्पष्ट धारणा राख्न सुझाव दिँदै उच्च मनोबलका साथ काम गर्न आग्रह गरे। साथै उनले हालको निर्वाचन परिणामलाई अनपेक्षित र अपत्यारिलो रहेको बताएका छन्।