काठमाडौँ । उडान भर्ने बित्तिकै कोलम्बियाको दक्षिणी क्षेत्रमा सैनिक बोकेको सैन्य विमान दुर्घटनाग्रस्त हुँदा ठूलो मानवीय क्षति भएको आशंका गरिएको छ। आइतबार भएको यस घटनाले देशभर शोकको माहोल सिर्जना गरेको छ।
रक्षामन्त्री पेड्रो ए सान्चेजका अनुसार ‘हर्कुलस’ नामक विमान पुएर्टो लेगुइजामोबाट उड्ने क्रममा दुर्घटनामा परेको हो। सैनिक ओसारपसारमा प्रयोग भइरहेको उक्त विमान दुर्घटनापछि तत्कालै उद्धार टोली परिचालन गरिएको र घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ।
मृतक सङ्ख्याबारे भने फरक–फरक विवरण सार्वजनिक भएका छन्। कोलम्बियाली एयरोस्पेस फोर्सले ६ जना चालक दलका सदस्यको मृत्यु पुष्टि गरेको छ भने रोयटर्सका अनुसार यो संख्या ६६ सम्म पुग्न सक्ने अनुमान गरिएको छ। स्थानीय पत्रिका एल टिएम्पोले विमानमा कम्तीमा १२० जना सवार रहेको जनाएको छ।
दुर्घटनाको कारण अझै खुलेको छैन र अनुसन्धान जारी छ। केही समयअघि मात्र बोलिभियामा यस्तै प्रकारको हर्कुलस विमान दुर्घटना हुँदा पनि ठूलो क्षति भएको थियो, जसले यस घटनालाई थप गम्भीर बनाएको छ।