Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

मन्त्री श्रेष्ठको १०० दिन: नीतिगत सुधारदेखि सामाजिक सशक्तीकरणसम्म प्रगति विवरण सार्वजनिक

मन्त्री श्रेष्ठको १०० दिन: नीतिगत सुधारदेखि सामाजिक सशक्तीकरणसम्म प्रगति विवरण सार्वजनिक

काठमाडौँ । श्रद्धा श्रेष्ठले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आफ्नो छोटो कार्यकालमा महत्वपूर्ण नीतिगत सुधार र सेवा प्रवाहमा उल्लेखनीय प्रगति भएको दाबी गरेकी छन्।

१०० दिनको उपलब्धि सार्वजनिक गर्दै उनले कार्यकाल छोटो भए पनि सिकाइ र चुनौतीपूर्ण अनुभवले भरिएको बताइन्। यस अवधिमा लैङ्गिक समानता, सामाजिक न्याय र समावेशी शासनलाई प्राथमिकतामा राखेर विभिन्न नीति तथा कार्यविधि अघि बढाइएको उनले जानकारी दिइन्।

मन्त्रालयले मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति, लैङ्गिक लेखापरीक्षण कार्यविधि, बालबालिका उत्तरदायी बजेट प्रणाली तथा महिला उद्यमी पुरस्कार कार्यविधि जस्ता नीतिगत व्यवस्था लागू गरेको छ।

सेवा प्रवाहतर्फ नुवाकोटमा बाल सुधार गृह स्थापना, ज्येष्ठ नागरिकका लागि हटलाइन सेवा विस्तार, अपाङ्गता परिचयपत्रमा एकरूपता, तथा दृष्टिविहीनमैत्री ब्रेल बोर्ड र भिजिटिङ कार्ड प्रयोगमा ल्याइएको उल्लेख छ।

त्यसैगरी अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण, दुर्गम क्षेत्रमा गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार, तथा कुरीति विरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्री श्रेष्ठले सबै तहका सरकार, सरोकारवाला निकाय र नागरिक समाजको सहकार्यले उपलब्धि सम्भव भएको भन्दै आगामी दिनमा कार्यक्रमलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिन्।