काठमाडौँ । रामेछापको खाँडादेवी गाउँपालिका–६ माकादुममा सोमबार बिहान यात्रुवाहक सुमो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्।
खाँडादेवी–७ टिमुबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र. ०८–००१ ज ०२२४ नम्बरको सुमो अनियन्त्रित भई दुर्घटनामा परेको हो।
घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। गम्भीर घाइते अन्दाजी ६० वर्षीया ठुली तामाङ, ४५ वर्षीया रिता तामाङ र ४८ वर्षीया सुनमाया तामाङलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ।
प्रहरीले २५ वर्षीय चालक किशोर कार्कीलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान अघि बढाएको छ। दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी रहेको जनाइएको छ।