काठमाडौँ । नेपाल सरकारले निषेधित क्षेत्रमा विदेशी पदयात्रीका लागि लाग्दै आएको ‘एकल पदयात्री’ सम्बन्धी कडा नियममा महत्वपूर्ण परिवर्तन गरेको छ।
अध्यागमन विभागले चैत ८ गते गरेको निर्णयअनुसार अबदेखि एक जना मात्रै विदेशी पदयात्रीले पनि निषेधित क्षेत्रमा पदयात्रा गर्न अनुमति पाउने भएका छन्। यसअघि अनिवार्य रूपमा दुई वा बढीको समूह हुनुपर्ने नियमका कारण एकल यात्रुहरूलाई समस्या हुँदै आएको थियो।
पर्यटन क्षेत्रका सरोकारवालाहरू, विशेष गरी ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान), ले यस नियमका कारण नेपाल भ्रमणमा आउने पर्यटक प्रभावित भएको भन्दै लामो समयदेखि गुनासो गर्दै आएका थिए। सोही दबाबपछि विभागले नियम खुकुलो बनाएको हो।
तर नयाँ व्यवस्थासँगै केही सर्तहरू कडाइका साथ लागू गरिएको छ। अब एकल पदयात्रीले अनिवार्य रूपमा ट्रेकिङ एजेन्सीमार्फत आवेदन दिनुपर्नेछ र आधिकारिक गाइड साथमा हुनुपर्नेछ। साथै, आपतकालीन उद्धार (रेस्क्यु) को सम्पूर्ण जिम्मेवारी सम्बन्धित एजेन्सीले लिनुपर्ने व्यवस्था पनि गरिएको छ।