काठमाडौँ । नेपाल–चीन व्यापारका लागि वैकल्पिक रूपमा सक्रिय बनाइएको कोरला नाकाले छोटो समयमै उल्लेखनीय आर्थिक उपलब्धि देखाएको छ।
मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्का का अनुसार चालु आर्थिक वर्षको भदौ ३१ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको कार्यालयले चैत ७ गतेसम्म ५ अर्ब ७१ करोड १० लाख रुपैयाँ राजस्व संकलन गरेको छ।
उक्त अवधिमा नाकामार्फत १२ अर्ब १७ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने २० करोड ३० लाख रुपैयाँ बराबरको सामग्री चीनतर्फ निर्यात भएको जनाइएको छ।
विशेषगरी, कोरला नाकाबाट २,३४७ वटा विद्युतीय सवारीसाधन भित्रिएका छन् भने १,८०४ मालवाहक कन्टेनरको जाँचपास सम्पन्न भएको छ।
रसुवागढी र तातोपानी नाका पहिरोका कारण बन्द भएपछि कोरला नाकालाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिएको थियो। त्यसपछि सरकारले यसलाई पूर्ण सञ्चालनमा ल्याएसँगै राजस्व संकलनमा अप्रत्याशित वृद्धि देखिएको हो।
यसअघि वार्षिक १०–१५ लाख रुपैयाँ मात्र संकलन हुने उक्त कार्यालयले अहिले भने अर्बौँ राजस्व उठाउँदै आफ्नो महत्व प्रमाणित गरेको छ।