काठमाडौँ । चैत ६ र ७ गतेको अविरल वर्षा र हावाहुरीले रौतहटका इट्टा उद्योगहरूलाई गम्भीर रूपमा प्रभावित बनाएको छ, जसले करोडौँको लगानी एकै झट्कामा जोखिममा पारेको छ।
खुला स्थानमा सुकाउन राखिएका काँचो इट्टा वर्षाले भिजेर नष्ट हुँदा जिल्लाभर करिब ४ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। रौतहट इट्टा उद्योग व्यवसायी संघका अध्यक्ष रामबिनोद साहका अनुसार करिब ५० वटा उद्योग प्रभावित भएका छन् भने १० लाखभन्दा बढी काँचो इट्टा पूर्ण रूपमा बिग्रिएका छन्।
वृन्दावन नगरपालिका–२ स्थित राधाकृष्ण इट्टा उद्योगमा मात्रै ५५ लाखभन्दा बढीको क्षति भएको सञ्चालक प्रेमशंकर यादवले जानकारी दिएका छन्। साथै अन्य दर्जनौँ उद्योगहरू पनि नराम्ररी प्रभावित भएका छन्।
काँचो इट्टा उत्पादनमा प्रतिगोटा ७ रुपैयाँभन्दा बढी लागत लाग्ने भए पनि सुकाउने चरणमै वर्षाले नोक्सान पुर्याउँदा व्यवसायीहरूको लगानी माटोमा मिलेको छ।
व्यवसायीहरूले बिमा प्रणालीको अभाव र सरकारी बेवास्ताप्रति असन्तुष्टि जनाउँदै तत्काल राहत र दीर्घकालीन सुरक्षा उपायको माग गरेका छन्।