काठमाडौं । जेनजी आन्दोलनका क्रममा घाइते भई अहिलेसम्म वर्गीकरणमा नपरेका व्यक्तिहरूका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले अन्तिम अवसर खुला गरेको छ।
शुक्रबार जारी सूचनाअनुसार आगामी चैत २० गते अन्तिमपटक वर्गीकरण प्रक्रिया सञ्चालन गरिनेछ। सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले विभिन्न कारणले अघिल्ला चरणमा छुटेका घाइतेलाई लक्षित गर्दै यो कदम चालिएको जानकारी दिए।
प्रशासनले सहभागी हुन इच्छुक घाइतेहरूलाई सोही दिन दिउँसो १२ बजेसम्म कार्यालयमा उपस्थित हुन आग्रह गरेको छ। आवेदनका लागि उपचार तथा स्वास्थ्य परीक्षणसम्बन्धी सक्कल कागजात, जेनजी घाइते परिचयपत्र अनिवार्य रूपमा ल्याउनुपर्नेछ र सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्नेछ।
‘जेनजी प्रदर्शनका घाइतेहरूको वर्गीकरण सम्बन्धी कार्यविधि, २०८२’ अनुसार गठन गरिएको समितिले यसअघि नै अधिकांश घाइतेको वर्गीकरण सम्पन्न गरिसकेको छ। मंसिर ५, मंसिर १२ र माघ १८ मा सम्पन्न अघिल्ला चरणहरूमा धेरैजसो घाइते समेटिएको प्रशासनले जनाएको छ।