Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बेपत्ता शेरबहादुर देउवा कहिले आउँछन्, आएर के गर्छन् ?

बेपत्ता शेरबहादुर देउवा कहिले आउँछन्, आएर के गर्छन् ?

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान हुन एक साता बाँकी रहँदा सिंगापुर गएका नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा उतै छन् । 

फागुन १३ गते सिंगापुर प्रस्थान गरेका देउवा नेपाल कहिले फर्किन्छन् र आगामी दिनमा उनी कुन भूमिकामा रहन्छन् ? भन्ने अहिले चासोको विषय बनेको छ । 

कतिपयले देशको राजनीतिमा निर्णायक ‘मोड’ आउनुअघि नेताहरू सिंगापुर वा बैंकक जाने पुरानै परम्परा रहेको भनेर पनि अर्थ्याएका छन् । 

जतिबेला देश निर्वाचनको राप र तापमा थियो । कांग्रेसका कार्यकर्ताहरू मतदानको पर्खाइमा थिए । ठिक त्यहीबेला देउवा सिंगापुर पुगेका थिए । गत पुस २८ र २९ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजित नेपाली कांग्रेसको विशेष महाधिवशेनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेयता देउवा पुरै ‘मौन’ छन् ।  
 

कुनै बेला सुदुरपश्चिको ‘शेर’ को परिचय बनाएका देउवा चुनावको मुखैमा मुलुक छाडेर सिंगापुर पुगेका थिए । पुसको अन्तिम साता सम्पन्न विशेष महाधिवेशनपछि देउवा कहीँकतै देखिएनन् । उनी गुपचुप रहे । विशेष महाधिवेशनपछि गत फागुन २१ गते प्रतिनिधिसभा सदस्यको चुनाव हुँदैगर्दा तत्कालीन संस्थापन (देउवा पक्ष) का व्यक्तिलाई प्राथमिकता नदिइएको भन्दै असन्तुष्टि पनि पोखिएको छ । 

चुनावभर अन्यत्रका कांग्रेस उमेदवार त के डडेल्धुराकै उमेदवार नैनसिंह महरको पक्षमा पनि मुख नखोलेको आरोप समेत देउवामाथि छ । महरका राजनीतिक गुरु पनि हुन् देउवा । 

कांग्रेसमा दुई कार्यकाल सभापति र पाँचपल्ट प्रधानमन्त्री भइसकेका व्यक्तिको रहस्यपूर्ण मौनताले आश्चर्यमा पारेको कांग्रेसकै नेताहरु बताउँछन् ।

यतिबेला कांग्रेसवृत्तभित्रै देउवाको मौन भूमिकाले पनि निर्वाचनमा कांग्रेसलाई असर पुगेको कतिपय टिप्पणी गर्छन् ।

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते देउवा दम्पती घरमै निर्घात कुटिएका थिए ।

तर चुनावकै मुखमा डडेल्धुरा हुनुपर्ने देउवा सिंगापुर किन गए ? देउवामात्र होइन, उनकी पत्नी आरजु राणा देउवा पनि धार्मिक यात्रा भन्दै भारत पुगिन् । जतिबेला देउवा दम्पतीले आफ्नालाई समेत भोट नमागेर चुनाव छल्ने बहानाबाजी गरेको आरोप लाग्यो । 

अगुवा नेता देउवालाई पछ्याउँदै नेताहरू प्रकाशमान सिंह, कृष्ण सिटौला, पूर्णबहादुर खड्का, डा.शशांक कोइरालालगायत आफ्ना उमेदवारलाई भोट नमागेर चुपचाप रमिते बनेको गम्भीर आरोप समेत लाग्यो । 

विशेष महाधिवेशनबाट नेतृत्वमा आएका गगन–विश्वसँगको असन्तुष्टि तत्काललाई थाती राखेर चुनावमा कांग्रेस जिताउने अभियानमा लाग्नुको सट्टा किन ‘भूमिगत शैली’ अपनाइयो भन्ने प्रश्नको घेरामा देउवा छन् । 

‘बदलियो कांग्रेस, बदल्छौं देश’ भन्ने नाराका साथ गगन थापा नेतृत्वको कांग्रेस चुनावमा होमिएको थियो । 

चुनावको मतपरिणाममा कांग्रेस रास्वपा पछिको राजनीतिक दल बने पनि आशातित नतिजा आउन सकेन । अन्ततः विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले पनि राजीनामा बुझाएका छन् ।

डडेलधुराबाट २०४८ सालदेखि सातपटक संसदीय चुनाव लडेका थिए देउवा । उनी सातै पटक विजयी बनेको इतिहास छ ।  

२०८२ को चुनावमा आइपुग्दा टिकट नदिने रणनीति नयाँ नेतृत्वले गरेपछि चुपचाप बस्न बाध्य भएको भन्दै देउवाका निकटस्थहरुले बचाउ गर्दै आएका छन् । 

विशेष महाधिवेशन र चुनाव सकिएको यतिका दिनसम्म पनि देउवा मौन नै छन् ।

न त चुनावी परिणामलाई लिएर कांग्रेसकै बिषयमा आफ्नो अभिव्यक्ति दिएका छन् । पार्टी नेतृत्वबारे पनि देउवाको धारणा बाहिरिएको छैन । कतै पनि खुलेका छैनन् । देउवा निकट नेता मीन विश्वकर्माले विवादबाट अलगल रहन र उपचारसहित आराम गर्न बाहिर जानुपरेको बताए । 

देउवासँगै सिंगापुर गएका निजी सचिव भानु देउवा केही दिनअगाडि नै नेपाल आइसकेका छन् । 

विश्वकर्माले देउवा पनि छिट्टै आउने संकेत गरे । विश्वकर्माले देउवाले पद छाड्दा पनि अपमान व्यहोर्नुपरेको बताए । 

नेता विश्वकर्माका अनुसार देउवा विश्राम लिने ढंगबाट उपचार र आराम गर्न बाहिर गएका हुन् । देउवाले थप अपमानित, अपहेलित भएको महसुस गरिरहेको उनले बताए । 

देउवाले टिकट वितरणमासमेत आफ्नो पकड गुमाएको अवस्था थियो । पार्टीभित्रको आन्तरिक विग्रहबाट टाढिन पनि देउवाले सिंगापुर यात्रा तय गरेका हुन् कि भन्ने अड्कलबाजी पनि कांग्रेसभित्र चलिरहेका छन् ।