काठमाडौं । सरकारी स्वामित्वका वित्तीय संस्थाहरूको कमजोर अवस्थाप्रति चिन्ता व्यक्त गर्दै अर्थमन्त्री रामेश्वर खनालले नीतिगत स्पष्टता बिना सुधार सम्भव नहुने बताएका छन्।
नागरिक लगानी कोषको ३६औँ वार्षिक उत्सवमा बोल्दै उनले विगतमा स्थापना गरिएका केही संस्थाहरूको अवस्था निकै कमजोर र अस्पष्ट रहेको उल्लेख गरे। उनका अनुसार, सरकारले स्थापना गरेका ग्रामीण विकास बैंकमध्ये चारवटाको अवस्था नै अज्ञात छ भने एउटा बैंक विभिन्न निकायसँग गाभिएर कमजोर रूपमा सञ्चालन भइरहेको छ।
खनालले नेपालको इतिहासमा सरकारी वित्तीय संस्थाहरू ३५ वर्ष नपुग्दै उद्धार गर्नुपर्ने अवस्था आउनु गम्भीर विषय भएको बताए। साथै, सरकारको जमानतमा दिइएका कर्जाले पनि नागरिक लगानी कोषलाई केही अवस्थामा समस्या परेको उनको भनाइ छ।
दीर्घकालीन समाधानका लागि सही नीति र वैकल्पिक उपाय खोज्न आवश्यक रहेको उनले जोड दिए।