काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले नेपाली कांग्रेसको नेतृत्वमा बनेको सरकारको पहिलो १०० दिनमा प्रदेश सरकारले अगाडि बढाएका ५१ वटा मुख्य काम सार्वजनिक गरेका छन्। मंगलबार जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, सिँचाई, भौतिक पूर्वाधार, खेलकुद, वन क्षेत्र, यातायात र अर्थसम्बन्धी क्षेत्रमा भएका उपलब्धिहरूका बारेमा जानकारी दिएका हुन्।
मुख्यमन्त्री यादवका अनुसार, प्रदेश सरकारले पहिलो १०० दिनमा गरेका काममध्ये सबैभन्दा उल्लेखनीय पहल जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा बिरामीलाई घरबाटै मोबाइल प्रयोग गरी पुर्जा काट्न मिल्ने व्यवस्था रहेको छ। यसले अस्पतालमा सेवा लिने प्रक्रियालाई सरल र छिटो बनाएको छ।
यस्तै, प्रदेश सरकारले किसानका लागि मलमा घटेको अनुदान पुनः पूर्ववत् गर्ने प्रस्ताव संघीय सरकारले अगाडि बढाउन सक्ने गरी तयार पारेको छ। जनकपुरधामको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गराउने उद्देश्यसहित आवश्यक मापदण्ड बनाउँदै स्थानीय सरकार र पुरातत्व विभागसँग समन्वय गरी काम अघि बढाइएको पनि यादवले बताए।
प्रदेश सरकारले राम जानकी रंगशाला निर्माणका बाँकी प्रक्रिया अघि बढाएको र एक निर्वाचन क्षेत्र–एक ५ किलोमिटर सडक निर्माण योजनाको पहिलो चरण सम्पन्न गरेर दोस्रो चरणको तयारी पूरा गरेको जानकारी मुख्यमन्त्री यादवले दिएका छन्।
यसैगरी, मधेश प्रदेशमा ई–रिक्सा र ट्र्याक्टर चलाएर जीविकोपार्जन गर्ने व्यक्तिहरूका लागि प्रयोगात्मक परीक्षा मार्फत लाइसेन्स प्रदान गर्ने प्रक्रिया सुरु गरिएको छ। गर्मी महिनामा सुख्खा हुने र पिउने पानीको अभाव हुने समस्यालाई मध्यनजर गर्दै विज्ञहरूसँग छलफल गरी समाधान खोज्ने काम पनि भइरहेको छ।
मुख्यमन्त्री यादवले भने, “हामीले पहिलो १०० दिनमा प्रदेश सरकारका विभिन्न मन्त्रालय मार्फत स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र भौतिक पूर्वाधारसम्बन्धी ठोस कदम चाल्यौं। यसले प्रदेशमा विकास र जनताको सेवा सहज बनाउन ठूलो योगदान पुर्याउनेछ।”
यसैगरी, उनले आगामी दिनमा योजना तथा कार्यक्रमलाई अझ द्रुत गतिमा अघि बढाउने र प्रदेशका सबै क्षेत्रका विकास परियोजनाहरूलाई प्राथमिकता दिइने बताए।