काठमाडौँ । राष्ट्रिय अपाङ्ग महासंघ नेपालका पदाधिकारीहरूले नेतृत्वमाथि स्वेच्छाचारी ढंगले संस्था सञ्चालन गरेको आरोप लगाउँदै काठमाडौंस्थित केन्द्रीय कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका छन्।
आइतबार रातोपुल र भृकुटीमण्डपस्थित कार्यालयहरूमा वरिष्ठ उपाध्यक्ष रामबहादुर कार्की, उपाध्यक्ष अनिता घिमिरे र महासचिव सुगम पोखरेलको नेतृत्वमा तालाबन्दी गरिएको हो।
तालाबन्दी कार्यक्रममा महासंघका पदाधिकारी, सदस्य संस्थाका प्रतिनिधि र विभिन्न सरोकारवालाहरूको उपस्थिति थियो। कार्यालय परिसरमा मागहरू समेटिएको प्रेस विज्ञप्ति टाँसिएको थियो। विज्ञप्तिमा अध्यक्षले विधानविपरीत गतिविधि गर्दै संस्थागत प्रक्रिया बेवास्ता र एकलौटी निर्णय गर्दै आएको आरोप लगाइएको छ।
पदाधिकारीहरूले कार्यसम्पादन समितिको बैठक आवश्यक प्रक्रिया बिना बोलाइएको, भर्चुअल बैठकमा सहभागी नभएका सदस्यलाई समेत गणना गरेर निर्णय गरिएको, चार प्रदेश महासंघको सुझाव बेवास्ता गरी बुटवल अधिवेशन स्थल तोकिएको, १०० भन्दा बढी सदस्य संस्थालाई नवीकरणबाट वञ्चित गरिएको, र निर्वाचन प्रक्रियामा हस्तक्षेप भएको आरोप समेत लगाएका छन्।
साथै सुदूरपश्चिम प्रदेश महासंघको बैंक खाता रोक्का, अध्यक्षद्वारा निर्णय पुस्तिकामा नियन्त्रण, संस्थागत स्रोत–साधनको दुरुपयोग, र पटक–पटक अधिवेशन सारिने जस्ता विषय पनि उठाइएको छ।
उपाध्यक्ष अनिता घिमिरेले संस्थालाई व्यक्तिगत नियन्त्रणमा राखेर सञ्चालन गर्नु अस्वीकार्य भएको बताउँदै निष्पक्ष र पारदर्शी अधिवेशनको माग गरेकी छन्। महासचिव सुगम पोखरेलले आन्दोलन थप सशक्त बनाइने र आवश्यक परे सातै प्रदेशमा समेत तालाबन्दी गर्न सकिने संकेत दिएका छन्।
पदाधिकारीहरूले अध्यक्षको तत्काल राजीनामा, विधानविपरीत निर्णय खारेज, र सबै सदस्य संस्थाको सहभागितासहित निष्पक्ष निर्वाचन सुनिश्चित गर्न स्वतन्त्र तदर्थ समिति गठन गर्न माग गरेका छन्।