Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

दलित मुक्ति मोर्चाले इनिसा विक हत्यामा दोषीलाई कानुनी कारबाहीको माग गर्यो

दलित मुक्ति मोर्चाले इनिसा विक हत्यामा दोषीलाई कानुनी कारबाहीको माग गर्यो

काठमाडौँ । नेपाल दलित मुक्ति मोर्चा ले १६ वर्षीया इनिसा विक हत्याको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुन बमोजिम कारबाही गर्न सरकारसँग माग गरेको छ।

सङ्गठनका अध्यक्ष दलजित श्रीपाली सहितको टोलीले आइतबार गृहमन्त्री ओमप्रकाश अर्याल लाई मन्त्रालयमा ज्ञापन–पत्र बुझाउँदै घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याएर पीडित परिवारलाई न्याय दिलाउन आग्रह गरेको छ।

मोर्चाले घटनामा संलग्नमाथि कारबाही गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदै पीडित परिवारले भोगेको भौतिक तथा मानसिक क्षतिको मूल्याङ्कन गरी न्यायसंगत क्षतिपूर्ति सुनिश्चित गर्न पनि माग गरेको छ।

ज्ञापन–पत्र ग्रहण गर्दै मन्त्री अर्यालले अनुसन्धान जारी राखेर दोषीलाई कानुनी दायरामा ल्याइने बताए। उनले मुलुकमा दण्डहीनता अन्त्य गर्नुपर्नेमा जोड दिँदै कुनै पनि आपराधिक वा अवाञ्छित गतिविधि नियन्त्रण गरेर शान्ति सुव्यवस्था कायम गर्न सरकार जिम्मेवार भएको बताए।

सुर्खेतको गुर्भाकोट नगरपालिका-६ स्थायी घर भई विरेन्द्रनगर–१ मा बसोवास गर्दै स्थानीय उषा बालबाटिका स्कुल मा कक्षा ११ अध्ययनरत बालिका इनिसा फागुन २३ गते बिहान ट्युसन पढ्न निस्केकी थिइन्। उनलाई अबेरसम्म घर फिर्ता नहुँदा खोज्दा विरेन्द्रनगर–४ स्थित शहीदपार्क नजिकको सामुदायिक वनमा बेहोस अवस्थामा भेटिएको थियो।

मोर्चाले घटनाको प्रकृति बलात्कारपछि क्रुरतापूर्वक हत्या भएको देखिएको भन्दै दोषीको कारबाही र पीडित परिवारको न्याय सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएको छ।