Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

संसद् भवन र सिंहदरबारमा भएको आगजनीमा पेट्रोलियम पदार्थ प्रयोग भएको पुष्टि

संसद् भवन र सिंहदरबारमा भएको आगजनीमा पेट्रोलियम पदार्थ प्रयोग भएको पुष्टि

काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा देशका महत्वपूर्ण सरकारी संरचनामा भएको आगजनीमा पेट्रोलियम पदार्थ प्रयोग भएको फरेन्सिक परीक्षणबाट पुष्टि भएको छ। आन्दोलनका क्रममा संघीय संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत तथा राष्ट्रपति भवन शीतल निवास मा आगजनी गरिँदा पेट्रोलियम पदार्थ प्रयोग गरिएको प्रमाण भेटिएको हो।

नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिज्म नेटवर्क (निमजिन) ले गरेको खोजअनुसार आगलागी भएका स्थानबाट संकलन गरिएका नमुनाको परीक्षण गर्दा पेट्रोलियम हाइड्रोकार्बनका अवशेष फेला परेका छन्। नमुनाहरू भारतको Central Forensic Science Laboratory मा परीक्षण गरिएको थियो, जुन भारतको गृह मन्त्रालय मातहत सञ्चालन हुन्छ।

परीक्षणका लागि पठाइएका नमुनामा खरानी, जलेको माटो, जलेका तारका टुक्रा, आधा जलेका काठ र कपडाका टुक्रासहित १५ वटा नमुना तथा पहेँलो झोल पदार्थको नमुना समावेश गरिएको थियो। परीक्षण प्रतिवेदन अनुसार ती नमुनामा पेट्रोलियम उत्पादनका अवशेष भेटिएका छन् भने एउटा झोल नमुना पेट्रोल नै भएको उल्लेख गरिएको छ।

उक्त आन्दोलनका क्रममा नयाँ बानेश्वर सहित विभिन्न स्थानबाट संकलन गरिएका सामग्री सिलबन्दी गरी दिल्लीस्थित प्रयोगशालामा पठाइएको थियो। नेपाल सरकारले भारत सरकारसँग समन्वय गरेर नमुना परीक्षण गराएको हो।

राष्ट्रिय योजना आयोग को प्रतिवेदन अनुसार आन्दोलनका क्रममा देशभर सरकारी, निजी र सामुदायिक गरी २ हजार ६ सय ७१ भवनमा तोडफोड तथा आगजनी भएको थियो, जसमध्ये २ हजार १ सय ३४ वटा सरकारी भवन रहेका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर तथा भिडियोमा पनि प्रदर्शनकारीहरूले विभिन्न स्थानमा पेट्रोल बम प्रयोग गरेको देखिएको विश्लेषणले देखाएको छ।