काठमाडौँ । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको सुरक्षामा खटिएका निर्वाचन प्रहरीको बिहीबार ललितपुरमा बिदाई गरिएको छ। जिल्ला प्रहरी परिसर ललितपुरले उनीहरूलाई धन्यवाद ज्ञापनसहित प्रमाणपत्र प्रदान गरी देशलाई आवश्यक परेको बेला सहयोग गर्ने वाचासहित सम्मान गर्यो।
कार्यक्रममा बोल्दै जिल्ला प्रहरी प्रमुख होविन्द्र बोगटीले निर्वाचन सुरक्षामा निर्वाचन प्रहरीको योगदान महत्वपूर्ण रहेको बताएका छन्। उनले ४० दिनसम्म प्रहरी कार्यालय, मतदान केन्द्र र बुथको सुरक्षा गर्दै उनीहरूले प्रहरीसँगै सारथीको भूमिका निर्वाह गरेको बताए।
निर्वाचन प्रहरी रमा गौतमले छोटो समयका लागि भए पनि देशको सेवामा योगदान दिन पाएको अनुभव साझा गर्दै निर्वाचन सुरक्षाको काम बाहिरबाट देखिए जस्तो सजिलो नभएको बताइन्। उनले ४५ दिनको अवधिमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगले काम सहज भएको पनि उल्लेख गरिन्।
यस वर्षको निर्वाचनमा नेपाल प्रहरी मातहत १ लाख ३३ हजार ९८० र सशस्त्र प्रहरी मातहत १५ हजार ११० गरी कुल १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी परिचालन गरिएको थियो।