काठमाडौँ । पार्टी सभापति गगन कुमार थापाले राजीनामा दिने चर्चा चलिरहेका बेला ललितपुरका स्थानीय तहका जनप्रतिनिधिहरूले उनलाई पद नछोड्न आग्रह गरेका छन्। वर्तमान राजनीतिक परिस्थितिमा पार्टीलाई मजबुत बनाउन थापाको नेतृत्व आवश्यक रहेको उनीहरूको भनाइ छ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुयाल, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र महांकाल गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनलगायतले बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन्।
उनीहरूले समसामयिक राजनीतिमा प्रभावकारी भूमिका खेल्न पनि गगन थापाको नेतृत्व निरन्तर आवश्यक रहेको उल्लेख गरेका छन्।
विशेष महाधिवेशनबाट चुनिएका थापासहितका अधिकांश पदाधिकारी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा पराजित भएपछि उनले नैतिकताका आधारमा राजीनामा दिने–नदिने विषयमा पार्टीभित्र बहस चलिरहेको छ। यसअघि उनले राजीनामा दिने संकेत गरेको तर उपसभापति विश्वप्रकाश शर्माले नदिन सुझाव दिएको समाचार सार्वजनिक भएको थियो।