काठमाडौँ । १६ वर्षदेखि नेपाली आकाशमा उडान भरिरहेको एटीआर–७२ जहाजलाई बुध्द एयरले औपचारिक रूपमा बिदाइ गरेको छ। २ जुलाई २०१० देखि व्यावसायिक उडानमा रहेको ९ एन–एजेओ कलसाइनको उक्त जहाजले आफ्नो सेवा अवधिमा २४ लाख ८२ हजार ७७२ यात्रु बोकेको कम्पनीले जनाएको छ।
जहाजको अन्तिम उडान ९ मार्च २०२६ मा भैरहवाबाट काठमाडौंसम्म गरिएको थियो। एटीआर–७२ जहाजको अधिकतम उडान क्षमता ७२ हजार साइकल हो, जहाँ एक उडान र एक अवतरणलाई एक साइकल मानिन्छ।
बिदाइ कार्यक्रममा बुध्द एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले यस जहाजले नेपालमा हवाई यात्रालाई सहज, कम खर्चिलो र वातावरणमैत्री बनाउन महत्वपूर्ण योगदान दिएको बताए। उनका अनुसार एटीआर जहाजलाई पूर्ण आयु सञ्चालन गर्ने ऐतिहासिक कीर्तिमान पनि कम्पनीले कायम गरेको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक टेकनाथ सिटौलाले उत्कृष्ट मर्मत–सम्भार र हवाई सुरक्षाप्रतिको प्रतिबद्धताका कारण जहाजलाई सफलतापूर्वक सेवाबाट बिदाइ गर्न सम्भव भएको बताए।
यसअघि बुध्द एयरले एटीआर–४२ जहाजलाई १० सेप्टेम्बर २०२४ मा पनि बिदाइ गरिसकेको छ। हाल कम्पनीले देशका विभिन्न आन्तरिक गन्तव्यसँगै भारतका वाराणसी र कोलकातासम्म उडान सञ्चालन गर्दै आएको छ।