काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि गठन हुने नयाँ संसद्मा विभिन्न क्षेत्रका विज्ञ, प्राज्ञ र उच्चशिक्षित व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहने भएको छ। प्रत्यक्षतर्फका १६५ सिटमध्ये विभिन्न विषयका विशेषज्ञ पृष्ठभूमि भएका उम्मेदवारहरू विजयी भएका छन्।
यसपटक संसद्मा विद्यावारिधि (पीएचडी) गरेका ९ जना सांसद निर्वाचित भएका छन्। तीमध्ये ८ जना राष्ट्रिय स्वतन्त्र पार्टीबाट र १ जना नेकपा एमालेबाट निर्वाचित भएका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट पीएचडीधारी सांसदमा डा. स्वर्णिम वाग्ले (तनहुँ–१), डा. कृष्णहरि बुढाथोकी (रामेछाप), डा. अमरेशकुमार सिंह (सर्लाही–४), डा. विक्रम तिमिल्सिना (नुवाकोट–१), डा. अच्युतम लामिछाने (नुवाकोट–२), डा. धनञ्जय रेग्मी (स्याङ्जा–१), डा. आनन्दबहादुर चन्द (कैलाली–५) र डा. ताराप्रसाद जोशी (डडेलधुरा–१) रहेका छन्। नेकपा एमालेबाट डा. अर्जुनकुमार कार्की संखुवासभाबाट निर्वाचित भएका छन्।
नयाँ संसद्मा स्वास्थ्य, विज्ञान, इन्जिनियरिङ, अर्थशास्त्र, पूर्वाधार, वातावरण, शिक्षा, नीति तथा कूटनीतिका क्षेत्रमा काम गरेका व्यक्तिहरू पनि निर्वाचित भएका छन्। न्युरोलोजी चिकित्सक डा. लेखजंग थापा, संरचनात्मक इन्जिनियर सुनील लम्साल, यातायात तथा पूर्वाधार विज्ञ आशिष गजुरेल, कम्प्युटर इन्जिनियर अरविन्द साह, अर्थशास्त्री सुशान्त वैदिक र सार्वजनिक नीतिका विज्ञ शिशिर खनाल पनि संसद्मा पुगेका छन्।
त्यसैगरी ऊर्जा, जलवायु परिवर्तन र विकासका क्षेत्रमा काम गरेका धर्मराज केसी तथा ग्रामीण विकासका विज्ञ बोधनारायण श्रेष्ठ पनि निर्वाचित भएका छन्। विज्ञान तथा प्रविधि क्षेत्रमा योगदानका लागि चिनिएका महावीर पुन पनि संसद्मा पुगेका छन्।
विशेषज्ञ र प्राज्ञिक पृष्ठभूमिका यी प्रतिनिधिहरूको उपस्थितिले आगामी संसद्मा नीति निर्माण र विकाससम्बन्धी बहसलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।