काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को मतगणना सकिएसँगै निर्वाचनसम्बन्धी सबै विशेष इकाइ र समन्वय केन्द्रहरू बन्द गरिएको निर्वाचन आयोगले जनाएको छ।
निर्वाचनको समग्र व्यवस्थापन, सूचना प्रवाह, समन्वय तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन आयोगले विभिन्न विशेष इकाइ र समन्वय केन्द्र स्थापना गरेको थियो। ती इकाइहरूले मतदाता र सर्वसाधारणलाई आवश्यक जानकारी उपलब्ध गराउने, सरोकारवाला निकायबीच समन्वय गर्ने र निर्वाचनसँग सम्बन्धित सूचनाको प्रभावकारी सम्प्रेषण सुनिश्चित गर्ने काम गरेका थिए।
निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र आयोगले २०८२ पुस ११ गते स्थापना गरेको थियो। यसैगरी, मतदाता र सर्वसाधारणका जिज्ञासा सम्बोधनका लागि २०८२ माघ ५ गतेदेखि कल सेन्टर सञ्चालनमा आएको थियो भने सुरक्षा निकायसँग सहकार्य र निर्वाचन प्रक्रियाको समग्र समन्वयका लागि संयुक्त निर्वाचन सञ्चालन केन्द्र २०८२ माघ ११ गतेदेखि सञ्चालनमा आएको थियो।
मतगणना सम्पन्न भएसँगै यी सबै इकाइहरू अब बन्द गरिएको छ।