Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

समानुपातिक मतगणना सम्पन्न, रास्वपा सबैभन्दा अगाडि

समानुपातिक मतगणना सम्पन्न, रास्वपा सबैभन्दा अगाडि

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको मतगणना पूर्ण रूपमा सकिएको छ। गोरखा–१ र इलाम–१ को मतगणना बुधबार बिहान सम्पन्न भएसँगै समानुपातिकतर्फको सबै मत गणना सकिएको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीका अनुसार मतगणना सकिए पनि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट आयोगमा अन्तिम विवरण आउने क्रम भने अझै जारी छ।

मतगणना सकिएसँगै अब राजनीतिक दलहरूले समानुपातिकतर्फ पाउने सिट संख्या निर्धारण गर्ने प्रक्रिया सुरु भएको आयोगले जनाएको छ। आयोगका अनुसार यो प्रक्रिया केही दिनभित्र पूरा हुने अपेक्षा गरिएको छ।

बुधबार बिहान ११ बजेसम्मको विवरणअनुसार समानुपातिकतर्फ १ करोड ७ लाख ३९ हजार ११५ मत गणना भएको छ। यसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ५१ लाख ३९ हजार २३५ मतसहित पहिलो स्थानमा रहेको छ।

त्यसपछि नेपाली कांग्रेसले १७ लाख ४९ हजार ५८३, नेकपा (एमाले)ले १४ लाख ४८ हजार ८५४ र नेकपा (माओवादी केन्द्र) ले ८ लाख ५ हजार ७७३ मत प्राप्त गरेका छन्।

यसैगरी श्रम संस्कृति पार्टीले ३ लाख ७८ हजार ६४९ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २९ हजार ४७२ मत पाएका छन्। निर्वाचन आयोगका अनुसार अन्य दलहरू भने थ्रेसहोल्ड पार गर्ने अवस्थामा देखिएका छैनन्।