Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रवि लामिछानेको मुद्दा फिर्ता निर्णयविरुद्धको रिटमा आज सुनुवाइ

रवि लामिछानेको मुद्दा फिर्ता निर्णयविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध रहेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको रिटमाथि आज सुनुवाइ हुने भएको छ।

महान्यायाधिवक्ता कार्यालयले लामिछानेमाथि लागेको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा संशोधन गरी फिर्ता लिने निर्णय गरेको थियो। सो निर्णयविरुद्ध परेको रिटमाथि बुधबार सुनुवाइ हुन लागेको हो।

वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा उक्त रिटमाथि सुनुवाइ हुने जनाइएको छ। यसअघि सोमबार सर्वोच्च अदालतले यो रिट हेर्न नभ्याउने सूचीमा राखेको थियो।

युवराज पौडेल (सफल), अधिवक्ता आभाष रेग्मी, कानुनका विद्यार्थीहरू तथा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

पुस ३० गते महान्यायाधिवक्ता सबिता भण्डारीले रवि लामिछानेमाथि लागेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिन स्वीकृति दिएकी थिइन्। यस्तो निर्णयपछि सम्बन्धित जिल्ला अदालतमा अन्तिम निर्णयका लागि पेस हुने व्यवस्था छ।

हाल सर्वोच्च अदालतमा रिट विचाराधीन रहेकाले कास्की जिल्ला अदालत र रूपन्देही जिल्ला अदालतले पनि यस विषयमा निर्णय गरेका छैनन्। सर्वोच्च अदालतले आदेश दिएपछि मात्रै ती अदालतहरूले निर्णय गर्ने बताइएको छ।

निवेदकहरूले महान्यायाधिवक्ताको निर्णय गैरकानुनी भएको दाबी गर्दै उक्त निर्णय बदर गर्न माग गरेका छन्। साथै मुद्दाको अन्तिम निर्णय नभएसम्म सो निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गर्न पनि माग गरिएको छ।