काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट ललितपुर जिल्ला क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद तोसिमा कार्कीले अब बन्ने सरकारले पुरानो औषधि ऐनमा आवश्यक संशोधन गर्ने विश्वास व्यक्त गरेकी छन्।
मंगलबार काठमाडौंमा आयोजित “नेपाल फार्म एक्सपो तथा औषधिमा आत्मनिर्भरता: नीतिगत सवाल” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले ४७ वर्ष पुरानो औषधि ऐन बोकेर आधुनिक र समयसापेक्ष चिकित्सा सेवा दिन सम्भव नहुने बताइन्। उनले आगामी सरकारले यस ऐनलाई प्राथमिकतामा राखेर आवश्यक संशोधन गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
कार्कीका अनुसार स्वास्थ्य क्षेत्रका सामान्य विषयहरू पनि लामो समयदेखि अड्किनुको कारण इच्छाशक्तिको कमी र अनैतिक खेल हो। उनले रास्वपाको नेतृत्वमा बन्ने सरकारले स्वास्थ्य क्षेत्रमा ‘सेवक सरकार’को भूमिका निर्वाह गर्ने दाबी गरिन्।
उनले औषधिमा आत्मनिर्भरता केवल व्यवसायिक विषय मात्र नभई नागरिकको सुरक्षासँग जोडिएको संवेदनशील मुद्दा भएको उल्लेख गरिन्। प्रत्येक नागरिकले सुलभ, सस्तो र गुणस्तरीय औषधि पाउने अधिकार सुनिश्चित गर्न राज्यले जिम्मेवारी लिनुपर्ने उनको भनाइ थियो।
कार्कीले औषधि उत्पादनका क्रममा मात्र नभई भण्डारणदेखि वितरण र बिरामीले प्रयोग गर्ने अवस्थासम्म गुणस्तर कायम छ कि छैन भन्ने विषयमा निरन्तर निगरानी र प्रभावकारी नियमन आवश्यक रहेको पनि बताइन्।