काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भोलि भारतको नयाँदिल्ली प्रस्थान गर्दै ‘एनएक्सटी २०२६ ग्लोबल समिट’ मा सहभागी हुने भएका छन्।
नयाँदिल्लीस्थित भारत मण्डपमा आगामी मार्च १२–१४ का दिन आयोजना हुने सम्मेलनमा भट्टराई ‘गेस्ट अफ अनर’ का रूपमा सहभागि हुने कार्यक्रम तय गरिएको छ। समिटमा विश्वभरका नीति–निर्माता, सांसद, प्रविधि विज्ञ, व्यवसायी तथा शैक्षिक प्रतिनिधिहरूको सहभागिता रहने छ। सम्मेलनले विश्व शासन, प्रविधि, अर्थतन्त्र, शिक्षा, सुरक्षा, स्वास्थ्य, वातावरण तथा अन्तर्राष्ट्रिय सम्बन्धलगायत समसामयिक विषयमा छलफल गर्नेछ।
समिटमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी प्रमुख अतिथि रहने छन्। मार्च १४ बिहान १०:०५ बजे “Democracy in the Age of AI: Digital Governance & The Youth” शीर्षक सत्रमा भट्टराईले गेस्ट अफ अनर एड्रेस दिने कार्यक्रम रहेको छ। यस सत्रमा डिजिटल प्रविधि र कृत्रिम बुद्धिमत्तासँग सम्बन्धित लोकतन्त्र, सुशासन र युवाको भूमिकाबारे विचार प्रस्तुत गरिनेछ।
भट्टराई फागुन ३० मा स्वदेश फर्कने कार्यक्रम रहेको सचिवालयले जानकारी दिएको छ।