काठमाडौं । महान्यायाधिवक्ता सविता भण्डारी बरालले काठमाडौं क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित रञ्जु दर्शनाको जीतले महिलाको सार्वजनिक भूमिका माथि उठेका शंका माथि उत्तर दिएको बताएकी छन्।
मंगलबार अन्तर्राष्ट्रिय महिला दिवस र महिला न्यायाधीश दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले सामाजिक सञ्जालमा गर्भवती महिला नेताले पदको लोभले बच्चाभन्दा प्राथमिकता दिएको भन्दै आलोचना भएको प्रसंगलाई स्मरण गर्दै भने, “तर त्यो परिस्थितिमा पनि उनी चुनावमा जितिन। त्यो जीत केवल उपलब्धि होइन, महिलाको सार्वजनिक भूमिका माथि गरिएको शंका माथिको जवाफ हो।”
महान्यायाधिवक्ताले सबै सक्षम र सफल महिलाहरूले आफ्नो नेतृत्व क्षमता अझ अभिवृद्धि गर्नु पर्नेमा जोड दिँदै अभिनेतृ निशा अधिकारी द्वारा सामाजिक सञ्जालमा लेखिएको स्टाटस पनि स्मरण गराइन्। उनले भनिन्, “महिलाले नेतृत्व लिन खोज्दा समाजले पहिले उसको निजी जीवन छानबिन गर्छ, नीति होइन। यो चुनौती पार गर्दै अगाडि बढ्नु नै नेतृत्वको अभ्यास हो।”
भण्डारीले नेतृत्व केवल पद र अधिकारको कुरा नभई जिम्मेवारी, मार्गदर्शन र निर्णय क्षमतासँग जोडिएको गुण भएको बताइन्। उनले थपिन्, “आजको चुनौतीपूर्ण समाज र पेशागत वातावरणमा नेतृत्व क्षमता अभिवृद्धि गर्नु भनेको सिर्जनात्मक सोच, निर्णय क्षमता, सहकार्य र समावेशी दृष्टिकोण विकास गर्नु हो। यी सबै कुरा पार गर्दै अगाडि बढ्न विकल्प छैन।”