काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म १ करोड ४ लाख ५३ हजार २५८ मत गणना सम्पन्न भएको छ। निर्वाचन आयोग का अनुसार अब करिब ५ लाख मत गणना हुन बाँकी रहेको छ।
मतगणनाको सुरुआतदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता कायम राख्दै अन्य दललाई ठूलो मतान्तरले पछाडि पारेको छ। हालसम्म रास्वपाले ५० लाख १९ हजार ३७५ मत प्राप्त गर्दै कुल मतको ४८.०२ प्रतिशत हिस्सा ओगटेको छ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस ले १६ लाख ९६ हजार ५८८ मत प्राप्त गरेको छ, जुन कुल मतको १६.२३ प्रतिशत हो। त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी (एमाले) १४ लाख १४ हजार १०७ मत (१३.५३ प्रतिशत) सहित तेस्रो स्थानमा रहेको छ।
त्यस्तै नेपाल कम्युनिस्ट पार्टी ७.३७ प्रतिशत मतसहित चौथो स्थानमा रहेको छ। श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले क्रमशः ३.४३ प्रतिशत र ३.११ प्रतिशत मत प्राप्त गरेका छन्। राप्रपाभन्दा श्रम संस्कृति पार्टी करिब ३३ हजार मतले अगाडि रहेको छ।
समानुपातिक प्रणालीतर्फ राष्ट्रिय पार्टी बन्नका लागि देशभर खसेको कुल मतको कम्तीमा ३ प्रतिशत मत प्राप्त गर्नुपर्ने प्रावधान रहेको छ।