काठमाडौँ । निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा धनुषामा दुई स्थानीय नेता पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार बहुमत पार्टीका जिल्ला सचिव नागेन्द्र दास र क्रान्तिकारी कम्युनिस्ट पार्टीका जिल्ला सचिव नन्दुकुमार झालाई नियन्त्रणमा लिइएको हो। एसपी रुगमबहादुर कुँवरका अनुसार उनीहरूको नामबाट निर्वाचनमा सहभागी नहुन चेतावनीसहितका पत्र र मतदातालाई लक्षित अपिलपत्र बरामद गरिएको छ।
प्रहरीले धनुषा–महोत्तरी सीमास्थित रातुपुलमा भएको बम विस्फोट घटनामा समेत उनीहरूको संलग्नता देखिएको जनाएको छ। अनुसन्धान जारी रहेको छ।