काठमाडौँ । भोलि हुने निर्वाचनलाई लक्षित गर्दै केन्द्रीय सुरक्षा समितिले हवाई गस्ती सञ्चालन गर्ने निर्णय गरेको छ। गृहमन्त्रालयमा बसेको बैठकले हेलिकप्टर स्ट्यान्डबाइ राख्ने तथा सुरक्षामा कुनै कसर बाँकी नराख्ने निष्कर्ष निकालेको हो।
गृह मन्त्रालयकी सहप्रवक्ता रमा आचार्यका अनुसार बैठकले संवेदनशील क्षेत्रको निगरानी बढाउने र सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राख्ने निर्णय गरेको छ।
बैठकमा केन्द्रीय सुरक्षा समितिका अध्यक्ष एवं गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा, सुरक्षा निकायका प्रमुख तथा मन्त्रालयका उच्च अधिकारी सहभागी थिए। विद्यमान सुरक्षा अवस्था, निर्वाचन तयारी र शान्ति–सुरक्षाका विषयमा विस्तृत छलफल भएको जनाइएको छ।
यसअघि बिहान मन्त्री अर्यालले ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग जुममार्फत छलफल गरी जिल्लागत अवस्थाबारे जानकारी लिएका थिए।