काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचन (फागुन २१) लाई लक्षित गर्दै गृहमन्त्री ओमप्रकाश अर्याल नेतृत्वको उच्च अधिकारी टोलीले ललितपुरका दुर्गम मतदान केन्द्रहरूको स्थलगत अनुगमन गरेको छ। टोलीमा गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, प्रवक्ता आनन्द काफ्ले र अन्य उच्च अधिकारी सहभागी थिए।
गृहमन्त्रीका निजी सचिव पर्शुराम पोखरेल का अनुसार टोलीले बुंमती, गोटिखेल, लेले लगायत केन्द्रमा निर्वाचन तयारी, सुरक्षा अवस्था र मतदान स्थलको स्थलगत निरीक्षण गरेको छ। अनुगमनपछि सुरक्षा निकायलाई आवश्यक निर्देशन दिइने व्यवस्था गरिएको छ।
यसअघि आइतबार सोही टोलीले बाँके, अछाम, बझाङ, बाजुरा र कैलालीको धनगढी पुगेर निर्वाचन तयारी र सुरक्षा व्यवस्थाको मूल्याङ्कन गरेको थियो। त्यहाँ गृहमन्त्री अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गर्दै मतदातालाई मताधिकार प्रयोग गर्न आव्हान गरेका थिए।
फागुन १५ मा गृहमन्त्री अर्याल र कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी नेतृत्वको टोलीले दोलखा, ओखलढुङ्गा, मोरङ, रौतहट र पर्सामा निर्वाचन तयारी, शान्ति सुरक्षा र सरोकारवालासँग छलफल गरेका थिए। सरकारले यसअघि नै निर्वाचन सुरक्षा र मुलुकको समग्र शान्ति सुरक्षालाई मजबुद बनाएको जनाएको छ।