काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा सुनसरीमा शंकास्पद गतिविधि गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आशंकामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै वातावरण विथोल्ने तथा सर्वसाधारणलाई मतदानस्थल नजान धम्क्याउने गतिविधि देखिएपछि कारबाही गरिएको हो।
पक्राउ पर्नेमा इलामको माङसेबुङ–१ का ३८ वर्षीय प्रविन मिश्र, मोरङको पथरी शनिश्चरे–१० का ५१ वर्षीय सिताराम बुढाथोकी र भोजपुरको साप्लासिसो–१ का ४६ वर्षीय डिल्लिराम बोहोरा रहेका छन्। उनीहरूलाई सुनसरीका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
केशव थेबे (एसपी, सुनसरी) का अनुसार बुढाथोकी र बोहोरालाई शनिबार तथा मिश्रलाई गत बुधबार पक्राउ गरिएको हो। हाल उनीहरूमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।