काठमाडौँ । संखुवासभाको मकालु गाउँपालिका–५ नुम र वडा नम्बर–२ सेदुवा जोड्ने अरुण नदीमाथि निर्माण गरिएको बेलिब्रिज शनिबार बिहान भाँचिएको छ। बिहान करिब ९ बजे सिमेन्ट बोकेको लोडेड ट्रक तार्ने क्रममा पुल गाडी सहित भत्किएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।
प्रहरी नायब उपरीक्षक कुमार प्रसाद मैनालीका अनुसार हेभी सवारी साधन पार गराउने क्रममा संरचना धान्न नसकी बेलिब्रिज भाँचिएको हो। दुर्घटनापछि प्रदेश–०३–००१ क २९२० नम्बरको ट्रक नदीमा खसेको थियो।
दुर्घटनामा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ निवासी ४० वर्षीय अर्जुन श्रेष्ठ गम्भीर घाइते भएका छन्। उनलाई प्राथमिक उपचारका लागि नुमस्थित चाकल प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ र थप उपचारका लागि काठमाडौं रेफर गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।
घटनापछि नुम–सेदुवा सडक खण्डको आवागमन अवरुद्ध भएको छ। प्रहरीले दुर्घटनाको थप अनुसन्धान गरिरहेको छ।