Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

मधेशले अब देशको दिशा तय गर्छ : उपेन्द्र यादव

मधेशले अब देशको दिशा तय गर्छ : उपेन्द्र यादव

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव ले निर्णायक राजनीतिक शक्ति अब मधेश नै भएको दाबी गरेका छन्। सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका यादवले घरदैलो कार्यक्रमका क्रममा मतदातासँग संवाद गर्दै देशको भविष्य निर्धारणमा मधेशको भूमिका केन्द्रीय हुने बताएका हुन्।

उनले मधेशलाई केवल भौगोलिक क्षेत्र नभई स्वाभिमान, अधिकार र पहिचानको सशक्त आवाजका रूपमा व्याख्या गरे। विगतमा राज्यले मधेशप्रति देखाएको उपेक्षा दोहोरिए समृद्ध नेपालको कल्पना सम्भव नरहेको उनको भनाइ थियो। “मधेश बलियो भए संघीयता बलियो हुन्छ, र संघीयता बलियो भए मात्र देश सुरक्षित र समृद्ध बन्छ,” उनले उल्लेख गरे।

मधेश आन्दोलनका संघर्ष, त्याग र बलिदान स्मरण गर्दै उनले ऐतिहासिक अन्याय र संरचनागत विभेद नस्वीकार्ने शक्तिहरू मधेशका सच्चा हितैषी हुन नसक्ने जिकिर गरे। मधेशका मुद्दा गाउँदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याउने काम जसपा नेपालले नै गरेको उनको दाबी थियो।

अन्य दलतर्फ संकेत गर्दै उनले केही शक्ति केवल मतका लागि मधेश केन्द्रित भएको तर यहाँको गरिबी, अशिक्षा, बेरोजगारी र विभेदप्रति संवेदनशील नभएको आरोप लगाए।

यो निर्वाचन सामान्य प्रतिस्पर्धा नभई मधेशको सम्मान, अधिकार र भविष्यको निर्णायक घडी भएको उल्लेख गर्दै यादवले मतदातालाई सचेत, एकताबद्ध र दृढ भएर मतदान गर्न आह्वान गरे। साथै, यस निर्वाचनपछि जसपा नेपाल निर्णायक शक्तिका रूपमा उदाउने विश्वास व्यक्त गरे।