Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

निर्वाचनको मौन अवधिमा घरमै होली मनाउन सिरहा प्रशासनको आग्रह

निर्वाचनको मौन अवधिमा घरमै होली मनाउन सिरहा प्रशासनको आग्रह

काठमाडौँ । होलीको रंगीन उत्साह यस वर्ष सिरहामा केही संयमित हुने देखिएको छ। प्रतिनिधिसभा निर्वाचनको मौन अवधिसँगै पर्व परेकाले जिल्ला प्रशासन कार्यालय सिरहाले घरमै शान्तिपूर्वक होली मनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै भीडभाड, होहल्ला तथा अनावश्यक सवारी आवागमन नगर्न निर्देशन दिइएको छ। निर्वाचनको स्वच्छता र निष्पक्षता कायम राख्न नागरिकको जिम्मेवार भूमिका आवश्यक रहेको उनले बताए।

प्रशासनले मादक पदार्थ (मापासे) र लागुऔषध (लापासे) सेवन गरी सवारी चलाउनेमाथि कडा कारबाही हुने स्पष्ट पारेको छ। त्यस्ता सवारी साधन नियन्त्रणमा लिएर मत परिणाम सार्वजनिक नभएसम्म फिर्ता नदिइने चेतावनीसमेत दिइएको छ।

सुरक्षाको दृष्टिले जिल्लाभर ६ हजार ७५७ सुरक्षाकर्मी परिचालन गरिएको छ। जसमा १,४०० नेपाल प्रहरी, ८०० सशस्त्र प्रहरी बल, ८०० नेपाली सेना र ३,७५७ निर्वाचन प्रहरी खटिएका छन्। मुख्य चोक–चौराहामा सुरक्षा तैनाथ गरिनुका साथै मोबाइल गस्ती टोलीसमेत परिचालन गरिने प्रशासनले जनाएको छ।