काठमाडौँ । सल्यानमा निर्वाचन आचारसंहिता उल्लंघनसम्बन्धी २८ उजुरी दर्ता भएका छन्। जिल्ला आचारसंहिता अनुगमन समिति सल्यानमा २५ मौखिक र तीन लिखित उजुरी परेको अनुगमन अधिकृत तथा सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माले जानकारी दिए।
उनका अनुसार स्थानीय तहका जनप्रतिनिधि र शिक्षक चुनाव प्रचारमा संलग्न भएको, सामाजिक सञ्जालमा प्रचार सामग्री पोस्ट गरिएको, पोस्टर टाँसिएको तथा सरकारी साधन–स्रोत प्रयोग गरी प्रचार गरिएको विषयमा उजुरी परेका छन्। नयाँ योजनाको शिलान्याससम्बन्धी गतिविधि पनि विवादमा परेको छ।
आचारसंहिता लागू भइसकेपछि सरकारी स्रोत–साधन दुरुपयोग नगर्नुपर्ने व्यवस्था उल्लंघन भएको भन्दै अनुगमन कडा बनाइएको छ। समितिले उजुरीमाथि छानबिन गरी कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।