काठमाडौँ । गृहमन्त्री ओम प्रकाश अर्यालले आसन्न निर्वाचन निष्पक्ष, पारदर्शी र भयरहित रूपमा सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। रौतहटको गौरमा सुरक्षा अवस्थाबारे जानकारी लिएपछि उनले प्रशासनले कसैलाई काखापाखा नगर्ने स्पष्ट पारे।
निर्वाचनको मिति फागुन २१ नजिकिँदै गर्दा सरकार पूर्ण रूपमा निर्वाचन केन्द्रित भइसकेको बताउँदै उनले कानुनविपरीत गतिविधि गर्ने जो–कोहीलाई कारबाही गरिने चेतावनी दिए। राम्रो नियतका उम्मेदवार र दललाई सहजीकरण गरिने तर आचारसंहिता उल्लंघन गर्नेलाई उन्मुक्ति नदिइने उनको भनाइ छ।
निर्वाचन आयोगको आचारसंहिताअनुसार कसूर गरे कारबाही हुने उल्लेख गर्दै उनले अफवाहमा नलाग्न आग्रह गरे। प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार रौतहटका संवेदनशील तथा सीमा क्षेत्रका मतदान केन्द्रमा उच्च सुरक्षा व्यवस्था मिलाइएको छ।