काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक अवधिमा देशभर खाद्य स्वच्छता र गुणस्तर निगरानी कडा बनाएको जनाएको छ। सो अवधिमा ५,९०६ पटक निरीक्षण गरिएको थियो भने मापदण्ड विपरीत पाइएका करिब २९ लाख रुपैयाँ मूल्यका खाद्य पदार्थ जफत गरी नष्ट गरिएको छ।
अर्धवार्षिक अवधिमा कुल १,६५२ उद्योगलाई अनुमतिपत्र जारी, नवीकरण वा स्थापनाका लागि सिफारिस गरिएको छ। निरीक्षणमा खाद्य तथा दाना उद्योग, होटल–रेस्टुरेन्ट, विद्यालय क्यान्टिन र बजार क्षेत्रका व्यवसाय समेटिएका थिए। मोबाइल खाद्य प्रयोगशाला भ्यानमार्फत स्थलगत परीक्षण पनि गरिएको विभागले जनाएको छ।
परीक्षणका क्रममा १,४५२ नमुना संकलन गरिएकोमा २६ नमुना मापदण्ड विपरीत भेटिए। न्यून गुणस्तर वा दूषित खाद्य बिक्री सम्बन्धी ६२ मुद्दा प्रशासन र अदालतमा दायर गरिएको थियो। साथै गुणस्तर समस्या भएका १३ पटक खाद्य वस्तु बजारबाट फिर्ता गर्न आदेश दिइएको थियो।
आयात–निर्यात नियमन अन्तर्गत ७,८७३ आयात अनुमति जारी गरिएको र २२९ कन्साइनमेन्ट अस्वीकृत गरिएको छ। प्रयोगशाला सेवामा ११,३११ नमुना परीक्षण गरिएको र आयातित फलफूल तथा तरकारीमा विषादी अवशेष जाँच निरन्तर भइरहेको छ।
विभागकी प्रवक्ता डा. बाल कुमारी शर्माले अनुगमन, परीक्षण र नियमन थप प्रभावकारी बनाइने र उपभोक्ता सचेतना अभिवृद्धिमा सञ्चारमाध्यमसँग सहकार्य हुने जानकारी दिइन्।