Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आफ्नो उम्मेदवार जिताउन गगन थापाले गरे एमाले र राप्रसँग चुनावी तालमेल

आफ्नो उम्मेदवार जिताउन गगन थापाले गरे एमाले र राप्रसँग चुनावी तालमेल

पोखरा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतदानको दिन आउन ८ दिन मात्र बाँकी छ । मतदानको४८ घण्टा अघिसम्म मात्र उम्मेदवारले आफ्नो चुनावी गतिविधिहरू प्रचारप्रसार र घरदैलो गर्न पाउँछन् । यतिबेला सिंगो देश नै चुनावमय बनेको छ । मतदाता रिझाउन उमेदवारहरू अनेक कार्य गरिरहेका छन् । कसरी हुन्छ निर्वाचन जित्ने ध्याउन्नमा सबै उमेदवार लागि पर्दा मनाङको दृश्य भने फरक छ । 

यही जिल्लाको मतपरिणाम सबैभन्दा पहिला सार्वजनिक हुन्छ । देशको सबैभन्दा कम मतदाता यहीँ छन् । तर, यहाँ दलहरू छुट्टाछुट्टै होइन, सँगै मत मागिरहेका छन् । त्यो पनि अर्काे पार्टीको उम्मेदवारलाई । हो, मनाङको चुनावी गतिविधिमा कांग्रेसका उमेदवार टेकबहादुर गुरुङलाई मत माग्छन् एमाले र राप्रपाका नेताहरू । एमालेले यहाँ पोल्देन छोपाङ गुरुङलाई उम्मेदवार बनाएको थियो । राप्रपाले कुविरसिंह गुरुङलाई टिकट दिएको थियो । माघ ६ गते उनीहरूले उम्मेदवारी दर्ता पनि गराएका हुन् । 

तर, उमेदवारी फिर्ता लिने दिन माघ ९ सम्म आइपुग्दा पोल्देन र कुविर ‘चुनावी रेस’बाट बाहिरिए । यहाँ मतदाताको मतभन्दा लामा गुरुहरूको रोहवरमा तानिएको ‘चिट्ठा’ निर्णायक बनेको छ । यही चिट्ठाको नतिजा स्वीकार गर्दै एमालेका उमेदवार पोल्देन छोपाङ गुरुङले प्रतिनिधिसभा सदस्यको उम्मेदवारी फिर्ता लिएका हुन् । राप्रपाका उमेदवार कुविरसिङ गुरुङ पनि बाहिरिए ।

चुनावमा हुने सम्भावित झैझगडा रोक्न भन्दै भ्राताङमा विशेष भेला डाकिएको थियो । त्यहाँ लामा गुरुहरूले दलहरूबीच सहमति गराउने प्रयास गरे । तर, कांग्रेसका टेकबहादुर र एमालेका पोल्देनबीच कुरा मिलेन । सहमति नजुटेपछि अन्तिममा भाग्य परीक्षा गरियो । दुवै नेताको अगाडि कचौरा राखेर चिट्ठा तानियो ।

 चिट्ठाको नतिजा कांग्रेसको पक्षमा आयो । नतिजा आएपछि एमाले उम्मेदवारी फिर्ता लिन बाध्य भयो । गोलाप्रथाको निर्णयअनुसार प्रतिनिधिसभामा कांग्रेसले चुनाव लड्ने पक्का भयो । टेकबहादुरलाई पोल्देन र कुविरले सघाउने सहमति बन्यो । त्यही सहमतिअनुसार अहिले पोल्देन र कुविरले रुख चिह्नमा मत मागिरहेका छन् । 

टेकबहादुरलाई जिताउन भनिरहेका छन् । मंगलबार नासो गाउँपालिका वडा नं. ८, ताचैमा टेकबहादुर, पोल्देन एउटै मञ्चमा भेटिए । मनाङ कांग्रेसका समर्थक राम गुरुङका अनुसार, अहिले टेकबहादुरलाई साझा उम्मेदवार बनाउँदा सिंगो मनाङमा एकताको माहोल देखिएको छ । मंगलबारको चुनावीसभामा एमालेका युवा नेता अरबिन गुरुङले नेताहरू मिलेर वातावरण बनाएको बताए । उनले सरकार जसको बने पनि मनाङको लागि संयुक्त रूपमा काम गर्नुपर्ने बताए  ।

तरुण दल मनाङका अध्यक्ष यज्ञ घलेले कहिल्यै नदेखेको दुईवटा नेतालाई एउटै मञ्चमा देखिँदा सधैँ मिलेर बस्नुपर्ने सन्देश प्रवाह भएको बताए ।  एमालेले उम्मेदवार उठाएका पोल्देनले सहमतिको कुरा सुनाउँदै पहिलादेखि नै सुरुवात गर्न खोजेता पनि सफल नभएको बताए ।  कांग्रेसका गुरुङले भने, ‘मनाङ सानो जिल्ला, हरेक वडामा नाता छ । एउटै आँगनमा बस्दा पनि यता र उताको अवस्था थियो । यो हुनुहुँदैन भन्ने लाग्यो । जनताको लागि भनेर राजनीति गरेका छौँ, तर हाम्रै कारणले परिवारमा पनि बोलचाल बन्द हुने, धेरै पहिलेदेखि प्रयास गरेका पनि हौँ, अहिले हामी सफल भएका छौँ । उद्देश्य भनेको सबै मिलेर बस्नु हो ।’ 
 
मनोनयनको बेलामा एमाले, कांग्रेस र राप्रपा मिलेको अवस्थामा मंगोल नेसनल अर्गनाइजेसन पनि सहमतिमा आइसकेको तर, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले अन्तिमसम्म आशा मात्र देखाएको बताए । टेकबहादुरसँगै नेकपाका यशोदा गुरुङ (सुवेदी) र मंगोल नेसनल अर्गनाइजेसनका रामबहादुर घले चुनावी मैदानमा छन् । मनाङका कुल सात हजार मतदातामध्ये पुरुष मतदाताको संख्या तीन हजार ६२३ छ भने महिला मतदाता तीन हजार ३७७ छन् । कांग्रेस सभापति गगनकुमार थापाले कसैसँग तालमेल नहुने र गठबन्धन पनि नबन्ने बताउँदै आएका छन् । तर आफ्नो दलका उम्मेदवारले जित्ने अवस्था बन्ने भएपछि उनी पनि गठबन्धन बनेको विषयमा मौन छन् ।