Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रास्वपाको चुनाव प्रचारमा आयोगको कडाइ, घण्टी बजाउन प्रतिबन्ध

रास्वपाको चुनाव प्रचारमा आयोगको कडाइ, घण्टी बजाउन प्रतिबन्ध

काठमाडौं । निर्वाचन आयोग ले आगामी प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसारका क्रममा निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग गर्न नपाइने गरी कडाइ गरेको छ। 

आयोगले धातु, काठ वा अन्य सामग्रीबाट बनेका सक्कली घण्टी, डोजर, खुकुरी वा हतियारजस्ता देखिने सामग्री बोकेर वा बजाएर प्रचार गर्न रोक लगाएको हो। पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले ‘घण्टी’ बजाउँदै देशका विभिन्न स्थानमा प्रचार गरेको भन्दै आयोगमा व्यापक गुनासो परेका थिए। सामाजिक सञ्जालमा समेत यसबारे बहस चर्किएको थियो। सोही सन्दर्भमा आयोगले निर्वाचन आचारसंहिताको पालना कडाइका साथ गराउने निर्णय सार्वजनिक गरेको हो।

आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराई ले जारी गरेको सूचनामा भनिएको छ, “राजनीतिक दल वा उम्मेदवारले आम जनमानसको सुरक्षामा असर पर्ने गरी धातु, काठ वा अन्य सामग्रीबाट बनेका भौतिक निर्वाचन चिह्न प्रयोग गर्न पाउने छैनन्। आचारसंहिता विपरीत यस्ता कार्य गरेमा तत्काल कारबाही हुनेछ।” आयोगका अनुसार निर्वाचन चिह्न प्रचारका लागि प्रयोग गर्न पाइए पनि त्यसको भौतिक, जोखिमयुक्त वा उत्तेजनात्मक प्रदर्शन गर्न पाइँदैन। विशेष गरी भिडभाडयुक्त स्थानमा धातुका घण्टी बजाउने, खुकुरी जस्ता धारिलो हतियार देखिने सामग्री प्रदर्शन गर्ने वा भारी उपकरणजस्ता वस्तु बोकेर हिँड्ने कार्यले सुरक्षा जोखिम बढाउन सक्ने ठहर आयोगले गरेको छ।

रास्वपाले चुनाव चिह्न ‘घण्टी’ बजाउँदै प्रचार गरेको विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आपत्ति जनाउँदै विज्ञप्ति नै जारी गरेको थियो। राप्रपाले “रवि लामिछानेका कार्यकर्ताले घण्टी बजाउँदै हिँड्दा आयोग किन मौन?” भनी प्रश्न उठाएको थियो। साथै, “घण्टी बजाउँदा नदेख्नेले ‘खुकुरी’ नचाउँदा देख्छ कि देख्दैन?” भन्ने अभिव्यक्तिमार्फत आयोगको तटस्थतामाथि संकेतात्मक टिप्पणी गरेको थियो। कतिपयले रास्वपाको प्रचार शैलीलाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह को ‘डोजर’ शैलीसँग तुलना गर्दै आक्रामक प्रचारको संज्ञा दिएका थिए। यद्यपि आयोगले कुनै एक दललाई लक्षित नगरी सबै दल र उम्मेदवारलाई समान रूपमा लागू हुने गरी निर्देशन जारी गरेको स्पष्ट पारेको छ।

निर्णयसँगै अब कुनै पनि दलले आफ्नो चुनाव चिह्नको भौतिक वस्तु प्रदर्शन गरेर प्रचार गर्न पाउने छैन। रास्वपाले घण्टी बजाउन नपाउने भएको छ भने राप्रपा वा अन्य दलले खुकुरी, हलो, गाईबस्तु, औजार वा अन्य सामग्रीको सक्कली स्वरूप प्रदर्शन गर्न नपाउनेछन्। आयोगले झण्डा, पोस्टर, पर्चा, डिजिटल सामग्री तथा स्वीकृत प्रचार माध्यममार्फत मात्रै चुनाव चिह्न प्रयोग गर्न निर्देशन दिएको छ।

 निर्वाचन नजिकिँदै जाँदा प्रचारप्रसार तीव्र बन्दै गएको छ। यस्ता गतिविधिले मतदातामा प्रभाव पार्ने मात्र नभई सम्भावित झडप वा अवाञ्छित घटना निम्त्याउन सक्ने भन्दै आयोगले आचारसंहिताको कार्यान्वयनमा कडाइ गर्ने संकेत दिएको हो।

आयोगले सबै राजनीतिक दल र उम्मेदवारलाई आचारसंहिता पूर्ण रूपमा पालना गर्न आग्रह गर्दै उल्लंघन भएमा कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ। आगामी निर्वाचन शान्तिपूर्ण र मर्यादित वातावरणमा सम्पन्न गराउने दायित्व सबै पक्षको भएको आयोगको भनाइ छ।