काठमाडौं । देश यतिबेला चुनावी सरगर्मीले तातेको छ। फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरू मतदाता भेटघाट, घरदैलो र चुनावी सभालाई तीव्र बनाइरहेका छन्। राजधानीका विभिन्न क्षेत्रमा चहलपहल बढ्दो छ भने मतदाताको चासो पनि उत्तिकै बढेको देखिन्छ।
काठमाडौंका निर्वाचन क्षेत्रहरूमध्ये सबैभन्दा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको क्षेत्र हो– क्षेत्र नम्बर ७। यहाँ मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेसका प्रमोद हरि गुरागाईं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गणेश पराजुली, नेपाल कम्युनिस्ट पार्टीका बसन्त मानन्धर र नेकपा एमालेका प्रकाश श्रेष्ठबीच देखिएको छ। यसअघिको निर्वाचनमा रास्वपाबाट प्रत्यक्ष निर्वाचित भएका गणेश पराजुली यसपटक पनि बलियो दाबेदारका रूपमा देखिएका छन्।
एमाले र कांग्रेसको परम्परागत प्रभाव रहेको क्षेत्रबाट अघिल्लो पटक जित हात पारेका कारण पनि उनको आत्मविश्वास उच्च छ। व्यक्तिगत छवि, सक्रियता र पार्टीको विस्तारसँगै पराजुली पुनः भारी मतान्तरले जित निकाल्ने रणनीतिमा देखिन्छन्। संसदमा रहँदा उनले काठमाडौं–७ को समग्र विकासका मुद्दा, शहरी व्यवस्थापन, सेवा प्रवाह सुधार र विशेषगरी भ्रष्टाचारविरुद्धका विषयमा स्पष्ट र कडा धारणा राख्दै आएका थिए। काठमाडौंसहित देशैभर व्यवस्थित ठेगाना प्रणाली लागू गर्नुपर्ने विषयमा पनि उनले सदनमा निरन्तर आवाज उठाएका थिए। घरदैलो अभियानका क्रममा पराजुलीले भ्रष्टाचार निर्मूल नै आफ्नो मुख्य एजेन्डा भएको दोहोर्याउँदै आएका छन्।
“भ्रष्टाचार जरैदेखि अन्त्य नगरी देशले गति लिन सक्दैन,” भन्ने सन्देश उनी मतदातामाझ पुर्याइरहेका छन्। भदौ २३/२४ गते भएको जेन्जी आन्दोलनपछि देखिएको राजनीतिक तरंगले पनि नयाँ भनिएका दलहरूलाई केही हदसम्म सहज वातावरण बनाएको विश्लेषण गरिन्छ। भ्रष्टाचार अन्त्य र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवाको मागसहित सडकमा उत्रिएका विद्यार्थीमाथि बल प्रयोग भएको घटनापछि मतदातामा वैकल्पिक शक्तिप्रति झुकाव बढेको दाबी रास्वपाको छ।
यसै सन्दर्भमा काठमाडौं महानगरपालिकाका मेयरका रूपमा चर्चित बनेका बालेन्द्र शाह रास्वपामा प्रवेश गरी वरिष्ठ नेताका रूपमा सक्रिय हुनु तथा भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरिनु पनि पार्टीका लागि सकारात्मक संकेत मानिएको छ। महानगरको नेतृत्वमा रहँदा पारदर्शिता र कडाइका साथ काम गरेको छवि शाहसँग जोडिएकाले त्यसको प्रभाव काठमाडौं–७ सहित शहरी क्षेत्रमा देखिन सक्ने विश्लेषण भइरहेको छ।
रास्वपा यसपटक बहुमत ल्याउने रणनीतिमा रहेको दाबी गर्दै आएको छ। शनिबार पार्टी उपसभापति डीपी अर्यालले फागुन २१ को निर्वाचनमा १८६ सिट जित्ने दाबी गरेका थिए। काठमाडौंमा आयोजित कार्यक्रममा धादिङ क्षेत्र नम्बर २ का उम्मेदवार बोध नारायण श्रेष्ठसँगको संवादका क्रममा उनले यस्तो घोषणा गरेका हुन्। समग्रमा, रास्वपाले फागुन २१ लाई “देशको भविष्य कोर्ने दिन” का रूपमा व्याख्या गर्दै व्यापक जनसमर्थनको अपेक्षा गरेको छ। काठमाडौं–७ मा देखिएको प्रतिस्पर्धाले भने यसपटकको निर्वाचनलाई अझ रोचक र चासोपूर्ण बनाएको छ।