काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीस्वरूप जिल्लामा नमुना मतदान अभ्यास गरिएको छ। जिल्ला निर्वाचन कार्यालय कालीकोट र मुख्य निर्वाचन कार्यालयको संयुक्त आयोजनामा सम्पन्न अभ्यासले मतदातालाई वास्तविक प्रक्रियासँग परिचित गराएको छ।
निर्वाचनका दिन अपनाउनुपर्ने सम्पूर्ण चरण मतपत्र बुझ्ने तरिका, प्रत्यक्ष र समानुपातिकतर्फ छुट्टाछुट्टै मतपत्रमा स्वस्तिक छाप लगाउने विधि, गोप्य कक्षको प्रयोग, मतपत्र मोड्ने र सुरक्षित रूपमा मतपेटिकामा खसाल्ने प्रक्रिया—व्यवस्थित रूपमा अभ्यास गराइएको थियो। विगतमा देखिएको बदर मतको समस्या न्यूनीकरण गर्ने उद्देश्य यस अभ्यासको मुख्य केन्द्रमा थियो।
नमुना मतदानलाई वास्तविक झैं बनाउँदै महिला, पुरुष, ज्येष्ठ नागरिक र अशक्त मतदाताका लागि छुट्टाछुट्टै तीन लाइनको व्यवस्था गरिएको थियो। मतदान अधिकृत, सहायक कर्मचारी र सुरक्षा निकायका प्रतिनिधिहरूको उपस्थितिमा सम्भावित विवाद व्यवस्थापन, मतपत्र बिग्रिएमा अपनाउने उपाय, मतदाता पहिचान जाँच, लाइन व्यवस्थापन र सुरक्षा समन्वयसम्बन्धी अभ्याससमेत गरियो।
निर्वाचन आचारसंहिता अनुगमन अधिकृत टंकबहादुर थापाका अनुसार कर्मचारीहरूको भूमिकाविभाजन र आपसी समन्वयबारे पनि विस्तृत छलफल गरिएको छ। प्रमुख जिल्ला अधिकारी गोकर्ण राज सुयलले नमुना मतदानले निष्पक्ष र पारदर्शी निर्वाचन सुनिश्चित गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्दै मतदातालाई सही तरिकाले मतदान गर्न आग्रह गरेका छन्।