काठमाडौँ । हिमाल, दुर्गम बस्ती र कमजोर सडक सञ्जालबीच कर्णालीमा हुने प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन व्यापक सुरक्षा योजना लागू गरिएको छ। प्रदेशभर १४ हजार ७ सय १९ जना सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरिएको छ भने ६ सयभन्दा बढी जनशक्ति अपुग भएपछि केन्द्रसँग थप माग गरिएको छ।
प्रदेश प्रहरी कार्यालयका अनुसार १ हजार ४३७ मतदान केन्द्रको संवेदनशीलता मूल्याङ्कन गरी ४४१ केन्द्रलाई अतिसंवेदनशील, ६५१ लाई संवेदनशील र ३०१ लाई सामान्य श्रेणीमा वर्गीकरण गरिएको छ। सीमावर्ती क्षेत्र, विगतमा विवाद देखिएका स्थान तथा भौगोलिक रूपमा चुनौतीपूर्ण क्षेत्रहरूमा विशेष निगरानी बढाइएको छ। अतिसंवेदनशील केन्द्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र आवश्यक परे नेपाली सेनासमेत परिचालन गरिने तयारी छ।
कर्णालीमा ९४१ मतदानस्थल रहेका छन् भने कुल मतदाता संख्या १० लाख ३७ हजार २५० छ। दुर्गम जिल्लामा सडक पहुँच कमजोर हुँदा मतदान सामग्री ढुवानी र मतपेटिका संकलन चुनौतीपूर्ण बन्ने देखिएको छ।
विशेष गरी डोल्पाका माथिल्लो क्षेत्रका २३ मतदान केन्द्रमा हेलिकप्टरमार्फत सामग्री र जनशक्ति ओसारपसार गर्नुपर्ने बाध्यता रहेको छ। शे–फोक्सुण्डो, छार्का ताङ्सोङ र डोल्पोबुद्ध क्षेत्र सडक सञ्जालबाट टाढा रहेकाले पैदल र हवाई सेवामै निर्भर रहनुपर्ने अवस्था छ।
सुरक्षा निकायले जोखिम मूल्याङ्कनपछि निगरानी, अनुगमन र समन्वयलाई तीव्र बनाउँदै निर्वाचनलाई सुरक्षित र व्यवस्थित बनाउन केन्द्रित भएको जनाएको छ।