काठमाडौँ । काठमाडौं क्षेत्र नंबर २ का लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार रहेकी कुन्तीदेवी पोख्रेलले घरदैलोको क्रममा जनताले आफूमाथि गरेको भरोसाले निकै उत्साहित भएको जनाएकी छिन् ।
बिहिबार र शुक्रबार कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ र ९ को पुरानो गोठाटार, नरेफाँट गणेश मन्दिर, जडिबुटी, कामनपा ३२ र कोटेश्वर क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गरी सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनले जनताले चाहेको यूवाको प्रतिनिधित्व, महिलाको समेत प्रतिनिधित्व गर्दै राष्ट्र, राष्ट्रियता र धर्मसंस्कृतिको संरक्षण गर्ने उम्मेदवार रहेकोले जनताले आफूमाथि पूर्ण भरोसा गरेको उल्लेख गरिन ।
घरदैलोको क्रममा उम्मेदवार पोख्रेललाई सो क्षेत्रका स्थानीयबासीहरुले कतै सगुन खुवाएर, कतै खादा–मालाले स्वागत गर्दै सफलताको शुभकामना व्यक्त गरेका थिए । सो क्रममा उनले सो क्षेत्रमा जनताका समस्याहरु, आवश्यकताहरु र राष्ट्रिय मुद्धाहरुलाई आफूले संवोधन गर्न निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरिन ।
सो क्रममा उनले सडक विस्तार, खानेपानी, ट्राफिक व्यवस्था र भ्रष्टाचार नियन्त्रणका काम गर्दै सरकारलाई पारदर्शी र जनउत्तरदायी बनाउँदै सुशासनका लागि जनताको आवाज बन्ने प्रतिबद्धता व्यक्त गरिन ।
यस्तै लाखौं नेपाली बाहिर बस्दा मतदान गर्न नपाउने अवस्था रहेकोले निर्वाचन ऐन संशोधन गरी अन्तर–जिल्ला र विदेशबाट समेत मतदान गर्ने प्रणाली लागू गर्नका लागि पहल गर्ने उल्लेख गरिन ।
काठमाडौं क्षेत्र नंबर २ अन्तर्गत पर्ने विकट क्षेत्र नाङ्लेभारेदेखि अति विकसित कोटेश्वर क्षेत्रसम्मका जनचाहना अनुसारका माग र मुद्धालाई अघि बढाउँने जनाईन । उम्मेदवार पोख्रेलले स्थानीय उत्पादन र साना–मझौला उद्यमलाई संकलन केन्द्र, सहकारी–आधारित मार्केटिङ, ब्रान्डिङ र डिजिटल प्लेटफर्ममार्फत बजारसँग जोड्ने,कर, अनुमति र प्रशासनिक झन्झट सरल बनाई रोजगारी र स्थानीय अर्थतन्त्र सुदृढ बनाउन लागिपर्ने प्रतिबद्धता व्यक्त गरिन । उनले शंखरापुर, कागेश्वरी मनोहरामा कृषि विकासका कार्यक्रम ल्याउँने, कोटेश्वर, पेप्सीकोला क्षेत्रको औद्योगिक वायु प्रदूषण रोक्न पहल गर्ने, मापदण्ड उलंघन भए प्रदूषण नियन्त्रण उपकरण अनिवार्य गराई कानुनी कारबाही सुनिश्चित गरिनेमा पनि जोड दिइन ।