Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रास्वपाको भैरहवा सभा एकाएक स्थगित, केन्द्रको निर्देशनमा कार्यक्रम रोकियो

रास्वपाको भैरहवा सभा एकाएक स्थगित, केन्द्रको निर्देशनमा कार्यक्रम रोकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन ९ गते भैरहवामा गर्ने तय गरेको प्रदेशस्तरीय चुनावी सभा स्थगित गरेको छ।

रास्वपा रुपन्देही जिल्ला सभापति बुद्धि प्रसार शर्माका अनुसार पार्टी केन्द्रको निर्देशनमा कार्यक्रम रोकिएको हो। केन्द्रीय कार्यालयले संगठनात्मक प्राथमिकता र रणनीतिक व्यवस्थापनका विशेष कारण देखाउँदै हालका लागि सभा स्थगन गर्ने निर्णय गरेको पत्रमार्फत जनाएको छ।

सभा तयारीस्वरूप पत्रकार सम्मेलन, प्रचार–प्रसार र मञ्च निर्माणको कामसमेत सुरु भइसकेको थियो। दाङको घोराहीमा भने आज कार्यक्रम हुँदैछ।

रुपन्देही र दाङमा ६–६ जिल्लालाई लक्षित गर्दै आमसभा आयोजना गर्ने योजना थियो। यी क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाउने रणनीतिअनुसार कार्यक्रम तय गरिएको थियो। सभामा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले संयुक्त सम्बोधन गर्ने तयारी थियो।

रास्वपाले ‘छोटो र छरितो’ शैलीमा करिब दुई घण्टाभित्र कार्यक्रम सम्पन्न गर्ने अभ्यास गर्दै आएको जनाएको छ। चुनाव नजिकिँदै पार्टीले विभिन्न जिल्लामा कार्यक्रम तीव्र बनाएको छ।