काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी तीव्र भइरहेका बेला भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएका ५३८ वटा सवारीसाधन नेपाल आइपुगेका छन्। गृह मन्त्रालयका अनुसार सबै गाडीहरू नेपाल भित्रिइसकेका छन् र निर्वाचन व्यवस्थापनमा परिचालन गर्न थालिएको छ।
गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) आनन्द काफ्लेले ती सवारीसाधन सुरक्षा निकाय, निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालयहरूलाई वितरण गरिएको जानकारी दिए। भारतबाट बोलेरो जिप, स्कोर्पियो र स्कोर्पियो पिकअप मोडलका गाडीहरू प्राप्त भएका छन्।
प्राप्त सवारीमध्ये ८७ वटा गाडी निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगलाई दिइएको छ भने २९८ वटा सुरक्षा निकायलाई उपलब्ध गराइएको छ। नेपाल प्रहरीका प्रवक्ता (डीआईजी) अबि नारायण काफ्लेका अनुसार भारतबाट आएका १९५ वटा गाडी गृह मन्त्रालयमार्फत प्रहरी प्रधान कार्यालयलाई हस्तान्तरण गरिएको छ। ती सवारीसाधन काठमाडौँ उपत्यका तथा बाहिरका विभिन्न युनिटमा पठाइने तयारी भइरहेको उनले बताए।