काठमाडौँ । अबदेखि पात्रो (पञ्चाङ्ग) वा भित्ते क्यालेन्डर छापेर बजारमा ल्याउनुअघि सम्बन्धित निकायबाट स्वीकृति लिनैपर्ने भएको छ। सरकारले अनधिकृत रूपमा प्रकाशन तथा वितरण भइरहेको भन्दै यस्तो कार्यमा नियन्त्रण कडा बनाएको हो।
यो जानकारी नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति ले काठमाडौंमा आयोजित पत्रकार भेटघाटमार्फत सार्वजनिक गरेको हो। समिति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत सञ्चालनमा रहेको छ।
समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थी ले गठन आदेश–२०७९ र आन्तरिक व्यवस्थापन निर्देशिका–२०७९ अनुसार अब व्यक्ति, संस्था, प्रकाशक वा वितरक कसैले पनि पूर्वअनुमति बिना पात्रो वा क्यालेन्डर प्रकाशन गर्न नपाउने स्पष्ट पारे।
उनका अनुसार यस कदमले पात्रोमा देखिँदै आएका मिति, तिथि र पर्वसम्बन्धी असमानता तथा त्रुटि नियन्त्रण गर्न मद्दत पुग्नेछ। अनधिकृत प्रकाशन पाइए कानुनी प्रक्रिया अघि बढाइने पनि समितिले संकेत गरेको छ।