काठमाडौं । जेनजी आन्दोलनका बेला कारागारबाट भागेका सात जना कैदीबन्दीलाई प्रहरीले पुनः नियन्त्रणमा लिएको छ। विभिन्न आपराधिक मुद्दामा थुनामा रहेका उनीहरू फरार भएपछि खोजी कार्य तीव्र बनाइएको थियो।
पक्राउ पर्नेमा रसुवाको उत्तरगया गाउँपालिका–१ का ४१ वर्षीय तेन्जिङ बहादुर तामाङ, लमजुङको दूधपोखरी गाउँपालिका–४ का २० वर्षीय प्रितम गुरुङ, कञ्चनपुरको पुनर्वास नगरपालिका निवासी २३ वर्षीया बबिता तामाङ, काभ्रेका २२ वर्षीय विक्रम नेपाली, दोलखाका २७ वर्षीय भूवन तामाङ, सिन्धुलीका २० वर्षीय अनिश मगर तथा भारतका रोशन साह रहेका छन्।
उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौं र मातहतका इकाइहरूले संयुक्त अभियान सञ्चालन गरी पक्राउ गरेको जनाइएको छ।
प्रहरीका अनुसार उनीहरू चोरी, डाँका, मानव बेचबिखन तथा ओसारपसार, लागुऔषध कारोबार र ज्यान मार्ने उद्योगजस्ता गम्भीर अभियोगमा मुद्दा खेपिरहेका अभियुक्त हुन्। पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ।