काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विक्रम संवत् २०८३ सालको आधिकारिक पात्रो सार्वजनिक गरेको छ। सार्वजनिक पात्रोअनुसार वर्षभरिका प्रमुख चाडपर्व र पर्व–तिथिहरू निर्धारण गरिएको छ।
वैशाख ४ गते शुक्रबार मातातीर्थ स्नान र १८ गते शुक्रबार गौतम बुद्ध जयन्ती पर्नेछ। साउन १३ गते गुरुपूर्णिमा, भदौ १९ गते श्रीकृष्ण जन्माष्टमी र २९ गते हरितालिका तीज मनाइनेछ।
मुख्य पर्व बडादशैं असोज २५ गते आइतबार घटस्थापनासँगै सुरु हुने छ भने कात्तिक ४ गते बुधबार विजयादशमी (टीका) रहेको छ। कात्तिक २० गतेदेखि तिहार प्रारम्भ भई २५ गते भाइटीका मनाइनेछ, भने २९ गते छठ पर्व पर्नेछ।
माघ २४ गते सोनाम ल्होसार, २८ गते बसन्त पञ्चमी, फाल्गुन २२ गते महाशिवरात्रि र २५ गते ग्याल्पो ल्होसार मनाइनेछ। त्यस्तै चैत्र ७ गते पहाडी क्षेत्रमा तथा ८ गते तराई क्षेत्रमा होली पर्व मनाइने पात्रोमा उल्लेख छ।