Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बंगलादेश र नेपालको चुनाव हाम्रा लागि पनि नयाँ अवसर : अमेरिकी अधिकारी

बंगलादेश र नेपालको चुनाव हाम्रा लागि पनि नयाँ अवसर : अमेरिकी अधिकारी

काठमाडौं । हालैका आन्दोलनपछि बंगलादेश र नेपालमा भएका निर्वाचनले दक्षिण एसियामा अमेरिकी संलग्नताका लागि नयाँ अवसर सिर्जना गरेको अमेरिकी प्रतिनिधि बिल हुइजेङ्गाले बताएका छन्। दक्षिण एसियासम्बन्धी अमेरिकी विदेश नीतिमा आयोजित सुनुवाइको क्रममा हिजो उद्घाटन मन्तव्य दिँदै अमेरिकी कंग्रेसअन्तर्गत दक्षिण तथा मध्य एसिया उपसमितिका अध्यक्ष हुइजेङ्गाले नेपाल र बंगलादेश राजनीतिक रूपान्तरणको प्रक्रियामा रहेको उल्लेख गरे।

उनका अनुसार, बंगलादेशले सन् २०२४ को आन्दोलनपछि आज पहिलो राष्ट्रिय निर्वाचन आयोजना गरिरहेको छ भने नेपालमा सन् २०२५ सेप्टेम्बरमा युवाहरूले एक सत्तावादी सरकारलाई विस्थापित गरेपछि आगामी महिनामा लोकतान्त्रिक निर्वाचन हुन गइरहेको छ। मिशिगन राज्यबाट निर्वाचित अमेरिकी प्रतिनिधि हुइजेङ्गाले भने, “यी दुवै घटनाले दक्षिण एसियामा नयाँ प्रकारको सहकार्यको अध्याय सुरु गर्ने अवसर दिएका छन्, जसले नयाँ सरकारहरूसँग अमेरिकाको सम्बन्ध परिभाषित गर्नेछ।” दक्षिण तथा मध्य एसियालाई गतिशील क्षेत्रका रूपमा वर्णन गर्दै उनले यहाँको युवा र बढ्दो जनसंख्या चीनको ‘सत्तावादी’ विकल्पभन्दा पश्चिमी संस्कृति र मूल्यतर्फ बढी आकर्षित हुने गरेको बताए। उनका अनुसार, यो क्षेत्र करिब दुई अर्ब जनसंख्या, तीव्र गतिमा बढिरहेका अर्थतन्त्र र हिन्द–प्रशान्त क्षेत्रमा शक्ति सन्तुलन निर्धारण गर्ने रणनीतिक जलमार्गहरूको केन्द्र हो। साथै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस क्षेत्रमा बजार खुला गर्ने र अमेरिकी आर्थिक हितलाई अघि बढाउने सम्झौताहरू सफलतापूर्वक सम्पन्न गरेको पनि उनले उल्लेख गरे।

हुइजेङ्गाले भने, “अब हामी कसरी संलग्न हुन्छौँ र कस्तो रूपमा अघि बढ्छौँ भन्ने कुराले आगामी दशकौँसम्म एसियामा अमेरिकाको भूमिका निर्धारण गर्नेछ।” चीनबारे बोल्दै उनले चीनले आफ्नो सुरक्षा हितलाई अघि बढाउन ‘शोषणकारी ऋण’ दिने र साना राष्ट्रहरूलाई ऋणको जालमा फसाउने गरेको आरोप लगाए। साथै, चीनले भारत, नेपाल र भुटानसँगको सीमामा सैन्य संरचना मजबुत बनाएको पनि उनले बताए। 

उनले भने, “हाम्रो देशबाट टाढा रहे पनि स्वतन्त्र र खुला हिन्द महासागर कायम राख्नु हाम्रो राष्ट्रिय तथा आर्थिक सुरक्षाका लागि प्राथमिकता हो।”

हुइजेङ्गाका अनुसार, हिन्द महासागर विश्वकै सबैभन्दा व्यस्त सामुद्रिक मार्गहरूमध्ये एक हो, जहाँबाट विश्व व्यापार र ऊर्जा आपूर्तिको मुख्य हिस्सा बग्छ। विश्वव्यापी समुद्री तेल व्यापारको ८० प्रतिशतभन्दा बढी यही मार्ग हुँदै हुने गरेको उनले बताए। 

साझेदार र मित्र राष्ट्रहरूसँग नौसैनिक सहकार्य बढाएर यी समुद्री मार्ग सुरक्षित गर्नु चीनको बढ्दो प्रभावलाई रोक्न र यस क्षेत्रको ‘हानिकारक गतिविधि’ नियन्त्रण गर्न सहयोगी हुने उनको भनाइ छ। उनले राष्ट्रपति ट्रम्पसँगै आफूले पनि हिन्द महासागरको बीचमा रहेको डिएगो गार्सियास्थित अमेरिकी नौसैनिक अड्डाको महत्त्व बुझ्ने बताए। यस क्षेत्रमा अमेरिकाको सैन्य शक्ति कायम राख्दा ‘चिनियाँ दबाब’ रोक्न, समुद्री डकैती नियन्त्रण गर्न र अमेरिकी तथा विश्व व्यापारको स्वतन्त्र प्रवाह सुनिश्चित गर्न सकिने उनको भनाइ छ।

डिएगो गार्सियाको ठीक उत्तरतर्फ रहेको भारत विश्वकै सबैभन्दा ठूलो लोकतन्त्र र तीव्र गतिमा बढ्दो अर्थतन्त्र भएकाले अमेरिका लागि महत्वपूर्ण रणनीतिक साझेदार रहेको उनले बताए। उनका अनुसार, गत साता मात्र राष्ट्रपति ट्रम्पले भारतसँग ऐतिहासिक व्यापार सम्झौता गराएका थिए, जसले दुई देशबीचको सम्बन्धलाई नयाँ ढंगले अघि बढाएको छ। साथै, अमेरिकाले बंगलादेशसँग पनि व्यापार सम्झौता गरेको छ। 

हुइजेङ्गाले बताएअनुसार अमेरिका–भारत व्यापार सम्झौताले भारतको भन्सार दर १८ प्रतिशतमा सीमित गरेको छ, जुन क्षेत्रीय रूपमा निकै कम हो। साथै, भारतले थप अमेरिकी ऊर्जा खरिद गर्न सहमति जनाएको छ। रक्षा सहकार्य, व्यापार र प्रविधि साझेदारीमार्फत नयाँदिल्लीसँग सम्बन्ध सुदृढ गर्दा दुवै देशका साझा हित अघि बढ्ने उनले निष्कर्ष निकाले।  द डेली स्टारको सहयोगमा