काठमाडौँ । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–२ स्थित रुघा खोलामा एक पुरुष मृत अवस्थामा भेटिएका छन्। मृतक स्थानीय ४६ वर्षीय लालबहादुर कठायत रहेको प्रहरीले पुष्टि गरेको छ।
आज बिहान स्थानीयवासीले खोलामा एक व्यक्ति डुबेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थल पुगेर प्रहरीले शव बाहिर निकालेको थियो। प्रारम्भिक अनुसन्धान अनुसार खोलो तर्ने क्रममा चिप्लिएर लड्दा उनी पानीमा फसेको र निस्किन नसक्दा डुबेर मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए।
प्रहरीका अनुसार उक्त खोला ठूलो र बगाउन सक्ने खालको नभए पनि घटना रातिको समयमा भएको अनुमान छ। अँध्यारोका कारण कसैले नदेख्दा समयमै उद्धार हुन नसकेको हुनसक्ने बताइएको छ।
मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले पठाइएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।