काठमाडौँ । १२ जनाको ज्यान जाने गरी भएको बस दुर्घटनाको छानबिन माग गर्दै रामेछापका स्थानीयले बुधबार बिहानदेखि सडक अवरुद्ध गरेका छन्। मन्थली नगरपालिका–६ मसानेटारमा मंगलबार बस तामाकोसी नदीमा खसेपछि आक्रोशित स्थानीय आन्दोलनमा उत्रिएका हुन्।
दुर्घटनाप्रति प्रशासन र अरनिको यातायात समितिले बेवास्ता गरेको आरोप लगाउँदै स्थानीयले काठमाडौँबाट आएका सवारी खुर्कोटमै, मन्थली भित्रिएका गाडी आकाशेमा र गाउँतर्फ जाने सवारी खिम्तीमा रोकेका छन्।
उनीहरूले घटनाको निष्पक्ष छानबिन, मृतक परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरूको निःशुल्क तथा प्रभावकारी उपचारको माग गरेका छन्। काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९७५ नम्बरको बस मंगलबार दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो।