काठमाडौँ । महाकाली नगरपालिका–४ मा प्रहरी हवलदार योगेन्द्र घर्तीको हत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ भने अन्य चार जना अझै फरार रहेका छन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमबहादुर विष्टका अनुसार पक्राउ पर्नेमा २० वर्षीया दिपिका पाल, २१ वर्षीया पायल लुहार र सुरेन्द्र बम रहेका छन्। घटनामा संलग्न वा सहयोगी भूमिका खेलेको आशंकामा अस्मिता बियर बारका सञ्चालक आशिक पाल, उनकी जेठी श्रीमती लक्ष्मी बडु, भाइ मनिस पाल र शव व्यवस्थापनमा सहयोग गरेको भनिएका राजेन्द्र डडाल फरार छन्।
प्रहरीका अनुसार पक्राउ परेकी दिपिका आशिक पालकी कान्छी श्रीमती हुन्। प्रारम्भिक अनुसन्धानमा अस्मिता बियर बारमा दिपिकालाई जिस्काएको विषयलाई लिएर आशिकले प्रहरी हवलदार घर्तीमाथि कुटपिट गरेको खुलेको छ। पक्राउ परेकाहरूले आशिक र उनका भाइले कुटपिट गरी हत्या गरेको बयान दिए पनि त्यसको थप पुष्टि भइरहेको प्रहरीले जनाएको छ।
एसएसपी विष्टका अनुसार घर्तीको टाउकोमा धारिलो हतियार प्रहार गरिएको पाइएको छ। फरार अभियुक्तको खोजी तीव्र पारिएको र घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।